२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सांसदहरुले भने- कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन

Nada
२०८३ असार २२ गते १२:३६
Shares
सांसदहरुले भने- कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन

काठमाडौं : नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । 
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गरिन् ।

ncell

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख सचेतक थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक रहेको बताइन् ।

उनले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठुलो खाडल रहेको टिप्पणी गरिन् । प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ (सपना) भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उनले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ? भन्दै प्रश्न गरिन् ।

प्रमुख सचेतक थापाले कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरवाही र बेवास्ताको परिणाम भएको जिकिर गरिन् । उनले तत्काल उद्धार कार्यलाई तीव्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गरिन् । 

नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति प्रकट गरिन् । कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उनले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गरिन् । 

उनले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गरिन् । हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्युन जनशक्ति परिचालन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

सांसद बरालले प्रधानमन्त्रीका पुराना प्रतिवद्धता र नाराहरूलाई स्मरण गराउँदै कर्णालीको वास्तविकता र सरकारी प्रचारबाजीमा ठुलो खाडल रहेको टिप्पणी गरिन् । उनले कर्णालीका बासिन्दालाई पनि सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गरिन् । साथै, दुर्घटनामा ज्यान गुमाएका जोखे तिरुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता चार जनाको शिघ्र खोजीका लागि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि उद्धार कार्यमा गम्भीर ढिलाइ भएको आरोप लगाए । उनले घटनाबारे सत्यतथ्य छानबिन, उद्धारमा भएको ढिलाइको कारण पहिचान तथा सम्बन्धित निकायको जिम्मेवारी निर्धारण गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

शाहीले दुर्घटनापछि नदीको बीचमा फसेका यात्रुले लामो समयसम्म सहयोगका लागि गुहार मागिरहेको र एक जना यात्रु भिरमा अड्किएको अवस्थामा रहे पनि समयमै उद्धार हुन नसकेको दाबी गरे ।

उनले दैलेख बस दुर्घटनाको समग्र घटनाबारे निष्पक्ष छानबिन गरी उद्धार प्रणालीमा देखिएका कमजोरीको मूल्यांकन गर्न सरकारलाई निर्देशन दिन सभामुखसँग आग्रह गरे ।

सम्बन्धित खबर