२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

Nada
२०८३ असार २२ गते १२:५२
Shares
इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग

काठमाडौं : राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

ncell

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले एमबबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी हुन् । सांसद ओलीले सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिन् ।

उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको भन्दै यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको बताइन् ।

विभिन्न कार्यदलहरूले इन्टर्न चिकित्सकहरूलाई आठौं तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिससहितको प्रतिवेदन तयार पारे पनि हालसम्म कार्यान्वयनमा नआएको उनले सदनलाई जानकारी गराइन् ।

ओलीकाअनुसार प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा समेत आयोगको बैठक बसी ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छैन । 

उनले नेपालको श्रम ऐन, २०७४ अनुसार श्रमिकका लागि तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन् ।

सरकारले पटक–पटक आश्वासन दिएपनि ठोस पहलकदमी नलिएको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेको समेत उनले जानकारी दिए । 

सम्बन्धित खबर