
काठमाडौं : काठमाडौंमा धार्मिक नेता दलाई लामाको ९१औं जन्मदिन मनाइएको छ । काठमाडौंमा रहेका तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले एक विशेष पूजाको कार्यक्रम गरेर धार्मिक नेता दलाई लामाको ९१औं जन्मदिन मनाएका हुन् ।
तिब्बती समुदायले आफ्नो परम्पराअनुसार धार्मिक नेता दलाईको दीर्घायुको कामना गर्दै बाजागाजा सहित झाँकी निकालेका थिए । पूजा कार्यक्रममा आनी गुम्बा स्वयम्भुका प्रमुख गुरु खेन्पो छ्यान्पाको प्रमुख आतिथ्यतामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोम,फ्रान्सेली राजदूत भर्जिनी कर्टबेल,अस्ट्रेलियन राजदूत साइमन अर्न्स्ट,युरोपियन युनियनको प्रतिनिधिमण्डलका प्रमुख भेरोनिक लोरेन्जोसहित विभिन्न गुम्बाका तिब्बतियन प्रतिनिधि,शिक्षक र विद्यार्थीको उपस्थिति थियो ।
तिब्बतबाट निर्वासित धार्मिक नेता लामा सोमवारबाट ९१ वर्ष पुगेका छन् । उनी १४ औं दलाई लामा हुन् । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा आफ्ना धार्मिक नेता लामाको जन्मदिन मनाउँदै आएका छन् ।
दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए । तर तिब्बतमा बढ्दो राजनीतिक तनावबीच सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि तिब्बतबाट भारत पुगेका थिए । त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन् ।
यता उपत्यकामा दलाई लामाको जन्मदिनको अवसरमा प्रदर्शन हुने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । तिब्बती मूलका नेपाली र तिब्बती शरणार्थीहरुको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।
नेपाल सरकारले दलाई लामाको जन्मदिन पारेर चीनविरोधी गतिविधि हुनसक्ने तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाई लामाको जन्मदिन मनाउने गरेका छन् ।








