२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४५ लाखको भ्रष्टाचार मुद्दा

Nada
२०८३ असार २२ गते १४:१४
Shares
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताले सार्वजनिक पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी ३ करोड ४५ लाख ९९ हजार १ सय ६७ रुपैयाँ ८४ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

ncell

अख्तियारको अनुसन्धान अनुसार गुप्ता अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४/०३/२० देखि २०७९/०३/२८ सम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो । सो अवधिमा उनको वैध आय ३ करोड ५१ लाख ५२ हजार ६ सय २० रुपैयाँ ८८ पैसा देखिएको छ, जसमा पारिश्रमिक, कृषि आय, बैंक ऋण र कम्पनीको आम्दानी समावेश छ ।

तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर लगानी, बिमा प्रिमियम र सवारी खरिदलगायतका क्षेत्रमा ६ करोड ९७ लाख ८१ हजार ७ सय ८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको पाइएको छ । वैध आम्दानीको तुलनामा खर्च र लगानी अस्वाभाविक रुपमा बढी देखिएको र सो स्रोत पुष्टि हुन नसकेपछि अख्तियारले यसलाई गैरकानुनी सम्पत्ति ठहर्‍याएको हो ।

अध्यक्ष गुप्ताले अवैध रुपमा आर्जन गरेको सम्पत्ति आफ्नो र परिवारका सदस्यहरूको नाममा समेत राखेको अनुसन्धानबाट खुलेको छ । यसै आधारमा अख्तियारले उनका बुबा बंशराज गुप्ता, आमा धानमती तेली र श्रीमतीहरू सुलोचना गुप्ता तथा शारदा आचार्य गुप्तालाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । उनीहरूको नाममा रहेको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

अख्तियारले गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिमको जरिवाना गर्न माग गरेको छ । साथै, उनले सार्वजनिक पदमा बहाल भएपछि पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक विवरण लुकाएको र झुटो विवरण पेस गरेको पुष्टि भएकोले थप सजायको माग समेत गरिएको छ । अवैध रुपमा आर्जन गरी परिवारका सदस्यको नाममा राखिएको सम्पत्ति समेत जफत गर्न अख्तियारको मागदाबी छ ।

सम्बन्धित खबर