
काठमाडौँ : प्रतिनिधि सभामा सांसदहरूले उठाएका समसामयिक प्रश्न र घटनासम्बन्धी विषयमा सरकारलाई जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका छन् ।
सोमबारको बैठकमा आकस्मिक तथा शून्य समयमा विभिन्न सांसदहरूले उठाएका मुद्दा गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै सभामुख अर्यालले ती विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको बताए। उनले विपद् जोखिम, बाढी-पहिरो र डुबानका कारण हुन सक्ने जनधन क्षति न्यूनीकरण तथा पूर्वतयारीका बारेमा भइरहेका कामकारबाहीबारे पनि संसदलाई जानकारी दिन सरकारलाई आग्रह गरे ।
सभामुखले संसदमा उठाइएका प्रश्नलाई गम्भीर रूपमा लिएर तत्काल जवाफ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै यस्ता विषयमा संसदलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गरे ।
यसअघि बैठकमा सांसदहरूले विशेष गरी कर्णाली राजमार्गमा हालै भएको सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। उद्धार कार्य समयमा प्रभावकारी नभएको भन्दै उनीहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए ।
सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट विषय उठेपछि जवाफ दिनुपर्ने माग बलियो बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दुर्घटनापछि सरकारको उद्धार क्षमतामाथि प्रश्न उठाउँदै सम्पूर्ण सरकारी संयन्त्र परिचालन भए/नभएको स्पष्ट पारिनुपर्ने बताए। उनले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन दीर्घकालीन योजना आवश्यक रहेको भन्दै गृहमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने मागसमेत गरेका थिए ।
सांसदहरूले उठाएका प्रश्न र चासोलाई मध्यनजर गर्दै सभामुखले सरकारलाई औपचारिक रूपमा जवाफ दिन निर्देशन दिएका हुन् ।