
बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्न जाने धेरै विदेशी पर्यटकको एउटै चाहना हुन्थ्यो- ‘हामीलाई सीतारानी गाइड चाहिन्छ ।’ कारण थियो, उनीसँग बाघ देखाउने अद्भुत क्षमता । तर, अब सीतारानी चौधरीले बाघ देखाउने छैनन् । उनको निधनसँगै बर्दियाले एक कुशल नेचर गाइड मात्रै होइन, प्रकृति संरक्षणकी एक समर्पित अभियन्ता पनि गुमाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जक छेउमै जन्मिएकी सीतारानीको बाल्यकाल जंगलकै काखमा बित्यो । चराको आवाज, वन्यजन्तुको पदचाप र हरियाली वातावरणसँगै हुर्किएकी उनी सानैदेखि प्रकृतिप्रति आकर्षित थिइन् ।
१६ वर्षको उमेरमा नेचर गाइड तालिम लिएपछि उनले वर्षौं जंगलमा सिक्दै अनुभव बटुलिन् । २०६९ सालदेखि उनी व्यावसायिक नेचर गाइडका रूपमा सक्रिय भइन् ।
सीतारानीको सबैभन्दा ठूलो परिचय थियो— बाघ देखाउने असाधारण सीप । बाघको पदचिन्ह, चाल, बासस्थान र व्यवहार हेरेर उनले बाघ कहाँ हुन सक्छ भन्ने अनुमान गर्थिन् । त्यसैले बर्दिया आउने धेरै विदेशी पर्यटकले विशेषगरी उनलाई नै खोजेर सफारी जान्थे ।
उनी नेपाली, हिन्दी, थारु र अंग्रेजी भाषामा सहज रूपमा संवाद गर्थिन् । वन्यजन्तु र चराचुरुङ्गीबारे तथ्यसहित जानकारी दिने उनको शैलीले पर्यटकहरू प्रभावित हुन्थे ।
तर, केही साताअघि एउटा अकल्पनीय घटनाले सबैलाई स्तब्ध बनायो। गाउँ नजिकैको कुलोमा लडेर उनको मेरुदण्डमा गम्भीर चोट लाग्यो । काठमाडौं ल्याएर शल्यक्रिया सफल भए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।
उनको उपचारका लागि देश–विदेशका संरक्षणकर्मी, प्रकृतिप्रेमी र शुभेच्छुकले आर्थिक सहयोग जुटाएका थिए । तर, ती सबै प्रयास अन्ततः असफल भए ।
सीतारानी नेचर गाइड मात्रै थिइनन् । उनी संरक्षणको सशक्त आवाज पनि थिइन् । पर्यटकलाई जंगल घुमाउनु मात्रै होइन, वन्यजन्तु र वातावरण जोगाउनु किन आवश्यक छ भन्ने सन्देश पनि दिन्थिन् ।
वन्यजन्तु फोटोग्राफीमा पनि उनको राम्रो दखल थियो । उनले खिचेका बाघ, गैंडा, चितुवा, हात्ती र दुर्लभ चराका तस्बिरहरूले धेरैको मन जितेका छन् ।
आज बर्दियाको जंगल उस्तै छ । बाघहरू अझै त्यहीँ छन् । चराहरू अझै चिरबिराइरहेका छन् । तर, ती सबैलाई आफ्नै शैलीमा चिनाउने सीतारानी अब छैनन् ।
उनले देखाएका बाघ, सुनाएका जंगलका कथा र संरक्षणप्रतिको समर्पण भने बर्दियाको जंगलसँगै जीवित रहनेछ । प्रकृतिलाई माया गर्ने सबैका लागि सीतारानी चौधरी एउटा नाम मात्र होइन, प्रेरणाको कथा बनेर रहनेछिन् ।