
काठमाडौँ : देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलवार जारी गरेको सूचना अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको भोजपुर मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५, जोखिममा असार १२ गते आएको बाढीका कारण सडक प्रभावित भएको छ। हाल उक्त सडक एकतर्फी सुचारु गरिएको छ भने वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ ।
यसैगरी, बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि बि.पी.राजमार्ग सडक खण्डमा खुर्कोट(नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले यातायात पूर्ण रूपमा अवरोध भएको छ। यो सडक खण्ड असार २५ गतेसम्म बन्द रहने जनाइएको छ ।
लुम्बिनी प्रदेशको रोल्पामा रुकुम घोराही सहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–६ हार्निङमा असार २२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ ।
जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाड नगरपालिका–८ मालुवामा आजै (असार २३ गते)गएको पहिरोका कारण सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पूर्ण रूपमा अवरुद्ध भएका सडक खण्डहरूमा यात्रा गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न वा सडक सुचारु भए–नभएको निश्चित गरेर मात्र यात्रा तय गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।