
काठमाडौँ : युट्युब तथा सामाजिक सञ्जालमार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ ।
पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत पाँचथरले जनाएको छ । प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो । युट्युबमा गालीगलौज गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो ।
त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो । पछि सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारलाई लक्षित गरी मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गर्दै भिडियो र स्टाटस सार्वजनिक गरेको आरोप उल्लेख गरिएको छ। साथै युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत त्यस्ता सामग्री प्रसारण गरेको अभियोग पनि उनीमाथि लगाइएको छ ।