
काठमाडौं : जमिअत उलेमा नेपालले विद्यार्थीमा शिक्षा, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक हप्ता विद्यार्थी लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालयमा अध्यक्ष मौलाना मुफ्ती खालिद सिद्धिकीको अध्यक्षतामा आयोजित विद्यार्थीसँगको शिक्षा, नैतिकता तथा सामाजिक जनचेतनासम्बन्धी बैठकले उक्त निर्णय गरेको हो । बैठकमा विभिन्न विद्यालय तथा मदरसामा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बैठकमा समाजमा बढ्दो अशिक्षा, लागुऔषध दुर्व्यसन, युवामा फैलिँदै गएको नकारात्मक सोच, नैतिक मूल्यमा आएको ह्रास तथा अन्य सामाजिक विकृतिबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले शिक्षासँगै नैतिक चरित्र निर्माण र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको आवश्यकता भएको धारणा राखेका थिए ।
वक्ताहरूले विद्यार्थीलाई समाज परिवर्तनका प्रमुख संवाहकका रूपमा उल्लेख गर्दै शिक्षा, अनुशासन र सकारात्मक सोचमार्फत समाजलाई सही दिशामा अघि बढाउन सकिने बताए ।
निर्णयअनुसार सञ्चालन गरिने साप्ताहिक कार्यक्रममार्फत विद्यालय तथा मदरसाका विद्यार्थीलाई शिक्षा, नैतिक आचरण, सामाजिक उत्तरदायित्व, लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना, सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सकारात्मक जीवनशैलीका विषयमा नियमित अभिमुखीकरण गराइने जनाइएको छ ।

बैठकमा सहभागीहरूले लागुऔषध दुर्व्यसन, अशिक्षा, हिंसा तथा अन्य सामाजिक विकृतिको नियन्त्रणका लागि विद्यार्थी, अभिभावक, शिक्षक, धार्मिक अगुवा, समाजसेवी तथा राजनीतिक नेतृत्वबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले शिक्षा र जनचेतनालाई प्राथमिकतामा राखेर सबै पक्ष एकजुट भए स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।
अध्यक्ष मौलाना मुफ्ती खालिद सिद्धिकीले शिक्षालाई समाज विकासको आधारशिला भएको उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनसँगै समाजप्रति पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले युवालाई लागुऔषध, हिंसा तथा अन्य सामाजिक विकृतिबाट जोगाउँदै शिक्षा, नैतिकता र सकारात्मक सोचतर्फ प्रेरित गर्न जमिअत उलेमा नेपालले निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव मुफ्ती शमीमले विद्यार्थी राष्ट्रको भविष्यको कर्णधार भएकाले उनीहरूको क्षमता, नेतृत्व र सामाजिक उत्तरदायित्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले आगामी दिनमा देशका विभिन्न जिल्लामा पनि विद्यार्थी केन्द्रित जनचेतनामूलक अभियान विस्तार गरिने जानकारी दिए ।
बैठकमा मुज़म्मिल अन्सारी, अबुशाद अन्सारी, अनीश अन्सारी, अमोम अन्सारी, सागिद अली, आदिल हुसेन, साहिल आत, असफाक अली, साहिल शेख, साबिर शेख, सोहैल अली, साकिब अलीलगायत विभिन्न विद्यालय तथा मदरसाका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
बैठकको अन्त्यमा सहभागीहरूले शिक्षा, नैतिकता र सामाजिक जनचेतनालाई सुदृढ बनाउन सबै पक्ष मिलेर विद्यार्थी केन्द्रित अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । जमिअत उलेमा नेपालले आगामी दिनमा पनि शिक्षा, नैतिक मूल्य र सकारात्मक सोचको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।