२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, लाख बढीको भन्सार छलीका सामान बरामद

Nada
२०८३ असार २३ गते २१:२४
Shares
कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, लाख बढीको भन्सार छलीका सामान बरामद

रौतहट : रौतहटमा प्रहरीले अवैध हतियार, गोली र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा गरिएको संयुक्त अपरेशनका क्रममा एक व्यक्ति कटुवा पेस्तोल र ६ राउन्ड गोलीसहित समातिएका हुन् । यसका साथै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध भन्सार छलीका सामान र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

ncell

जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ स्थित गौतम सहनीले संञ्चालन गरेको मदिरा पसलमा अवैध हतियार तथा खरखजानाको खरिदबिक्री भइरहेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा सोमवार राति अन्दाजी १० बजे इलाका प्रहरी कार्यालय गरुडा र सशस्त्र प्रहरी बेस दुधियाभरबाट खटिएको संयुक्त टोलीले आकस्मिक छापा मारेको थियो । 

खानतलासीका क्रममा गरुडा नगरपालिका वडा नं. ९ बस्ने ४२ वर्षीय सदरे आलमलाई रीतपूर्वक चेकजाँच गर्दा उनको साथबाट १ राउन्ड गोली लोड भएको एक थान कटुवा पेस्तोल र प्रतिबन्धित लागूऔषध नाइट्रोभेट  २ ट्याब्लेट बरामद भएको थियो । 

पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय गरुडामा ल्याई थप सोधपुछ र अनुसन्धान गर्दा उनकै बयानका आधारमा वारदात स्थल नजिकै रहेको खोला किनारको झाडीभित्र लुकाएर राखिएको अवस्थामा थप ५ राउन्ड गोली, नेपाली नगद ३२ हजार ५ सय र भारतीय रुपैयाँ २४ हजार ५ सय समेत बरामद गरिएको छ । प्रहरीले उनलाई हिरासतमा राखी हातहतियार, खरखजाना तथा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।

यसैगरी रौतहट प्रहरीले विभिन्न नाकाबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका करिब १ लाख १८ हजार ९ सय रुपैयाँ बराबरको सामान र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको टोलीले मंगलबार बिहान अन्दाजी ५ बजे परोहा नगरपालिका वडा नं. ८ मा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएको उषा पोली वायर (तार) नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी ल्याइएको उक्त तार र सो कार्यमा प्रयोग भएको बिआर ३० क्यु ६१३५ नम्बरको मोटरसाइकल अनुमानित मूल्य ६० हजार प्रहरीलाई देखेपछि तस्करहरूले बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए । बरामद गरिएको तारको बजार मूल्य करिब ४९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै  इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरको टोलीले गुजरा नगरपालिका वडा नं. ३ स्थित जंगलसहियाबाट धनसरतर्फ जाँदै गरेको ना ५५ प ७३३१ र ना ३१ प ४०७३ नम्बरको दुईवटा मोटरसाइकललाई रोक्न खोजेको थियो। भारतबाट अवैध रूपमा युरिया मल लोड गरी ल्याइरहेका ती मोटरसाइकलका चालकहरू प्रहरीलाई देख्नासाथ मल र मोटरसाइकल बाटोमै छाडेर फरार भएका थिए ।

प्रहरीले सो स्थानबाट करिब १० हजार रुपैयाँ बराबरको ११ बोरा युरिया मल र मोटरसाइकल नियन्त्रणमा लिएको छ । बरामद गरिएका सम्पूर्ण भन्सार छलीका सामान र सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जनाए ।

सम्बन्धित खबर