
काठमाडौं : नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा नागार्जुन नगरपालिका–६ स्थित सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र ( एमओयू )मा हस्ताक्षर भएको छ ।
नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्य तथा नागार्जुन नगरपालिका–६ का वडा अध्यक्ष देवेन्द्रराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, नगर प्रवक्ता महेश रिमाल, शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर, सीताराम मा. वि.का प्रधानाध्यापक प्रदीप पुरी, दक्षिण कोरियाको सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा. युन चो युन यी। निर्देशक योङ–सुन ओह, अनुवादक तेन्जिन नोर्बु लामा, समाजसेवी केशव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
औपचारिक एमओयू कार्यक्रम पछि सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुखको उपस्थितिमा सीताराम मा. वि.को नवनिर्मित क्यान्टिनको उद्घाटन गरिएको थियो ।
नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सीताराम मा.वि. र सनमुन विश्वविद्यालयबीच शैक्षिक आदान–प्रदान, शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा औपचारिक हस्ताक्षर गरिएको हो । उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी तथा शिक्षकका लागि विश्वस्तरीय सिकाइका अवसर विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ ।
सीताराम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको समग्र विकासलाई लक्षित गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थिए । समझदारीपत्रमा उल्लेखित कार्यक्रमहरूले विद्यार्थीहरूमा ज्ञान, सीप, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रम अन्तर्गत सञ्चालन गरिने विभिन्न गतिविधिबारे पनि जानकारी गराइएको थियो । कार्यक्रमअनुसार कोरियाली भाषा तथा संस्कृति शिक्षण, कोरियाली कला प्रशिक्षण, विद्यार्थी केन्द्रित शिक्षण, करियर निर्माणसम्बन्धी अभिमुखीकरण, खेलकुद प्रशिक्षण, स्वास्थ्य सेवा शिविर, सामुदायिक सेवा, मितेरी कार्यक्रम, वृक्षारोपण, सांस्कृतिक तथा उपहार आदान–प्रदानलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त कार्यक्रममार्फत स्थानीय समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने प्रक्रियाबाट विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता, सेवाभाव तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गरिनेछ । साथै बहुसांस्कृतिक आदान–प्रदान र आपसी समझदारीमार्फत समावेशी समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।
दक्षिण कोरियाबाट आएका २८ सदस्यीय विद्यार्थी तथा कर्मचारीको टोलीले नागार्जुन नगरपालिका र स्थानीय विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सहयोग, स्वयंसेवा, नेतृत्व विकास तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने जानकारी दिइएको छ । कार्यक्रमअन्तर्गत वृक्षारोपण तथा समापन समारोहसमेत आयोजना गरिने कार्यतालिका प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित वक्ताहरूले स्थानीय सरकार, सामुदायिक विद्यालय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थीको व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा विश्वस्तरीय शैक्षिक अवसर सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले नेपाल–दक्षिण कोरियाबीचको शैक्षिक, सांस्कृतिक तथा सामुदायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै भविष्यमा दीर्घकालीन सहकार्यको नयाँ अध्याय सुरु गरेको सहभागीहरूले बताएका छन् ।