
काठमाडौं : नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदामा धनी भए पनि त्यसको उचित उपयोग र विश्वस्तरमा ब्रान्डिङ गर्न नसक्दा आर्थिक रूपमा पछाडि परेको व्यवसायी फिरोज सिंहको बुझाइ छ । करिब १६ वर्षअघि कीर्तिपुरमा स्थापना गरेको मौलिक नेवारी र नेपाली परिकारमा आधारित रेष्टुरेन्ट ‘ससः त्वा’ मार्फत उनले यही सन्देश व्यवहारमै उतारिरहेका छन् ।
फिरोजको प्रश्न छ, ‘तीन करोडभन्दा कम जनसंख्या भएको, गनेरै नसकिने प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको देशमा नेपालीले रोजगारी र आयआर्जनका लागि विदेशिनुपर्ने अवस्था किन आयो ?’ यसको उत्तर पनि उनीसँगै छ- नेपालको मौलिक सम्पदा, संस्कृति र उत्पादनको संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिको आधार बनाउनु ।
कीर्तिपुर डाँडाको दक्षिण–पश्चिम फेदीमा रहेको ‘ससः त्वा’ केवल रेष्टुरेन्ट होइन, मौलिक संस्कृति, परम्परा र नेपाली उत्पादनको जीवित संग्रहालय बनेको छ । यहाँ विदेशी पर्यटक, विदेशबाट फर्किएका नेपाली तथा आन्तरिक पर्यटकलाई नेवारी परिकार परम्परागत शैलीमै पस्किने गरिन्छ । यही अवधारणाले अहिले डेढ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने भक्तपुरका कुम्हाल, ललितपुरका सुकुल बुन्ने, परम्परागत खाद्य सामग्री बनाउने, हुक्का बनाउने ज्येष्ठ नागरिकदेखि नेवारी परिकारका दक्ष युवासम्मका सयौं व्यक्तिको आम्दानीसँग पनि जोडिएको छ ।
‘ससः त्वा’ प्रवेश गरेपछि रेष्टुरेन्टभन्दा मल्लकालीन नेपालको कुनै सांस्कृतिक बस्तीमा पुगेको अनुभूति हुन्छ । प्रवेशद्वारदेखि नै हाकुपटासीलगायतका मौलिक पोशाकमा सजिएका कर्मचारीले नेवारी परम्पराअनुसार ‘सगुन’ दिएर स्वागत गर्छन् ।

बस्ने व्यवस्था सुकुलमाथि बिछ्याइएका चकटी, फल्चा र डबली शैलीमा गरिएको छ । काठ, माटो र इँटाबाट बनेका परम्परागत संरचना, भक्तपुरका माटाका भाँडा, पुराना दलिन, निदाल, देग, दबू र फल्चाले मल्लकालीन वास्तुकलाको झल्को दिन्छन् ।
यहाँ सम्य बजी, छोइला, बारा, ऐला, छ्याङसहित ३५ भन्दा बढी मौलिक नेवारी परिकार तयार गरिन्छ । नेवारी भोजमा सुरुवातका १० भन्दा बढी ‘स्टार्टर’ र मुख्य भोजनमा १८ भन्दा बढी परिकार पस्किने व्यवस्था छ । भोज हलभित्र वा मल्लकालीन शैलीको खुला चोकमा गर्ने विकल्प ग्राहक आफैंले रोज्न सक्छन् । एकैपटक करिब १ हजार २०० जनालाई सेवा दिन सक्ने क्षमता ‘ससः त्वा’सँग रहेको छ ।
ससः त्वा अर्थात् ससुराली टोल
रेष्टुरेन्टको नाम पनि नेपाली संस्कृतिसँग जोडिएको छ । नेपाल भाषामा ‘ससः’ भनेको ससुराली हो । फिरोजका अनुसार नेपाली समाजमा ज्वाइँलाई ससुरालीमा गरिने आत्मीय सत्कार संसारका कुनै पनि विलासी होटलको सेवाभन्दा कम छैन ।
त्यही भावलाई केन्द्रमा राखेर रेष्टुरेन्टको नाम ‘ससः त्वा’ राखिएको हो । ज्वाइँलाई स्वागत गर्दा पस्किने विशेष परिकारलाई यहाँ ‘जिलाजँ कौलाः’ नाम दिइएको छ, जसमा बारा, तारेको माछा, गिदी, भुटन र परम्परागत मदिरा ऐला समावेश हुन्छ ।
फिरोजका अनुसार अहिले विदेशमै ‘ससः त्वा’बारे सुनेर लोकेशन खोज्दै आउने विदेशीको संख्या बढ्दो छ । कतिपयलाई नेपाल आउँदा अनिवार्य रूपमा यहाँ पुग्न साथीभाइ वा परिवारले सिफारिस गर्ने गरेका छन् ।
विशेषगरी नयाँ पुस्ताले देख्नै नपाएका माटाका भाँडा, सुकुल, पुराना संरचना र मौलिक जीवनशैलीले नेपालीलाई ‘नोस्टाल्जिक’ बनाउने गरेको उनी बताउँछन् भने विदेशीले यसलाई मल्लकालीन नेपालको जीवित झलकका रूपमा लिने गरेका छन् ।
आज पर्यटकको आकर्षण बनेको ‘ससः त्वा’ स्थापना भएको ठाउँ १६ वर्षअघि भने खेतीका लागि समेत उपयुक्त थिएन । त्यो क्षेत्र फोहोर फाल्ने स्थानका रूपमा चिनिन्थ्यो । मुख्य बस्ती, व्यापारिक गतिविधि वा ऐतिहासिक संरचना केही पनि नभएको २२ रोपनी जग्गामा परम्परागत शैलीको रेष्टुरेन्ट निर्माण गर्ने निर्णयलाई धेरैले ‘मूर्खतापूर्ण’ भनेका थिए ।
व्यवसाय सुरु भएको केही समयमै २०७२ सालको भूकम्प, त्यसपछिको नाकाबन्दी र कोभिड–१९ महामारीले ठूलो चुनौती थप्यो । त्यसबेला ‘ससः त्वा’ले भूकम्पपीडित, दैनिक ज्यालादारी मजदुर, सुरक्षाकर्मी तथा लकडाउनका कारण सडकमा अलपत्र परेका जनावरसम्मलाई खाना उपलब्ध गराएको फिरोज सम्झन्छन् ।

कोभिडकालमा रोजगारी गुमाएर मानिस भोकै बसेको अवस्था र काठमाडौंबाट पैदल घर फर्कने क्रममा गर्भवती महिलाको मृत्युको घटनाले आफूलाई गहिरो रूपमा छोएको फिरोज बताउँछन् । त्यसपछि उनले निष्कर्ष निकाले—नेपाल गरिब देश होइन, आफ्नै सम्पदा र उत्पादनलाई विश्वसामु चिनाउन नसकेको देश हो ।
उनका अनुसार नेपालीले विदेशी उत्पादनप्रति मोह घटाएर स्वदेशी सामग्रीको प्रयोग बढाए रोजगारी र आयआर्जन उल्लेख्य रूपमा वृद्धि हुन सक्छ ।
‘प्रेसर नियन्त्रणका नाममा विदेशी काँडेदार जुत्ता किनिन्छ, जबकि त्यही काम हाम्रो परम्परागत सुकुलले गर्थ्यो,’ उनी भन्छन् । विदेशी पर्यटकलाई नेपालमा पिज्जा र बर्गरभन्दा नेपाली मौलिक परिकार चखाउनुपर्ने उनको धारणा छ ।
परम्परागत डकर्मी, सिकर्मी, माटाका भाँडा बनाउने कुम्हाल, सुकुल बुन्ने कारीगरजस्ता सीप हराउँदै जानु, नयाँ पुस्ताले रोपाइँ, धिमे, मादल, डम्फु र मुर्चुङ्गासमेत नचिन्ने अवस्था आउनु दुःखद भएको फिरोज बताउँछन् ।
नेपालका हरेक समुदायसँग विश्व बजारमा चिनाउन र बेच्न सकिने मौलिक सम्पदा रहेको उल्लेख गर्दै उनी ती सबैलाई समेटेर नेपालीलाई आफ्नो संस्कृति र परम्पराप्रति गर्व गर्न प्रेरित गर्न चाहन्छन् ।
विश्वका विभिन्न देशको भ्रमणपछि आफूले नेपालको वास्तविक समस्या गरिबी नभई ब्रान्डिङ र मार्केटिङको अभाव रहेको महसुस गरेको फिरोज बताउँछन् ।
उनले अहिले पनि ‘ससः त्वा’मा पानी पिउने भाँडादेखि खरानी राख्ने एस्ट्रेसम्म भक्तपुरका माटाका सामग्री प्रयोग गरिरहेका छन् । देशभर यस्तै मौलिकतामा आधारित रेष्टुरेन्ट खुले भक्तपुरका माटाका भाँडा, ललितपुरका सुकुल, खोकनाको तेललगायत स्वदेशी उत्पादनको ठुलो बजार सिर्जना हुने र हजारौंले रोजगारी पाउने उनको विश्वास छ ।
दिनहुँ सयौं स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली मौलिक संस्कृति, परम्परा र स्वादसँग परिचित गराइरहेका फिरोज सिंह अब यही अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै मौलिक सम्पदाको संरक्षणसँगै त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ भन्ने सन्देश विश्वसामु पुर्याउने तयारीमा छन् । रासस