२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्री, मन्त्रीहरूविरुद्ध लेख्दाबोल्दा थुनिहाल्नुपर्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?

Nada
२०८३ असार २४ गते १३:१५
Shares
प्रधानमन्त्री, मन्त्रीहरूविरुद्ध लेख्दाबोल्दा थुनिहाल्नुपर्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाए ।

ncell

उनले प्रधानमन्त्री, मन्त्रीलगायतका पदाधिकारीहरूलाई नियमावली अनुसार चल्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमा सुन्न नसक्ने गालीगलौज आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने ? यहीँ प्रश्न छ । प्रधानमन्त्रीलाई एकजना व्यक्तिले गाली गर्नुभएछ । उहाँलाई पक्राउ गरेर पुर्पक्षमा पठाइयो भन्ने सुनिएको छ । एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ ।’

उनले प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने ? भन्दै प्रश्न गरे।

उनले थपे, ‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्ने, मेरो घरै जलाइदिन्छु भन्ने सम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो ?’

उनले सामान्य जनतालाई कारबाही हुने तर जिम्मेवार पदमा बसेको व्यक्तिले जे भने पनि किन कारबाही हुँदैन भनेर प्रश्नसमेत गरे । ‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?,’ राईले भने ।  उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने बताए । 

सम्बन्धित खबर