२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नागरिकका दैनिक समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्नेमा सांसद कुँवरको जोड

Nada
२०८३ असार २४ गते १५:१७
Shares
नागरिकका दैनिक समस्या समाधानमा सरकार केन्द्रित हुनुपर्नेमा सांसद कुँवरको जोड

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सुशासन र सार्वजनिक सेवा सुधारसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत समस्यालाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

ncell

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद कुँवरले सरकार गठन भएको सय दिन पूरा भएको उल्लेख गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाहको सन्देश दिन सफल भएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

उनले सरकारले सुधारका दीर्घकालीन योजना अघि बढाइरहे पनि सर्वसाधारणले भोगिरहेका तत्कालीन समस्या समाधानतर्फ थप ध्यान दिनुपर्ने धारणा राखिन् ।

सांसद कुँवरले रुपन्देही क्षेत्र नम्बर १ का धेरै महिलाले बढ्दो बजार मूल्य र दैनिक उपभोग्य सामग्रीको महँगीका कारण घरपरिवार सञ्चालनमा कठिनाइ भइरहेको गुनासो गर्ने गरेको जानकारी दिइन् ।

उनले कृषि कार्यमा संलग्न नागरिकले समेत विभिन्न समस्या भोगिरहेको बताइन् । असार महिनामा दिनभर खेतबारीको काम सकेर घर फर्किएका किसानले नियमित विद्युत् आपूर्ति नहुँदा थप कठिनाइ झेल्नुपरेको उनको भनाइ थियो । विद्युत् अवरोधका कारण साँझको समयमा बालबालिकाको हेरचाह र दैनिक कामकाज प्रभावित हुने गुनासो नागरिकबाट आएको उनले संसदमा जानकारी गराइन् ।

सांसद कुँवरले शुल्क तिरेर पनि अपेक्षित सेवा प्राप्त गर्न नसक्ने अवस्था र अर्कोतर्फ बढ्दो महँगीले नागरिकको जीवनयापनमा दबाब सिर्जना गरेको बताइन् ।

उनले सरकारलाई सुशासन र समृद्धिको लक्ष्य अघि बढाउँदै गर्दा नागरिकले तत्काल अनुभूति गर्ने दैनिक जीवनका समस्या समाधानमा पनि समान रूपमा ध्यान दिन आग्रह गरिन् ।

सम्बन्धित खबर