
काठमाडौँ : नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संविधान संशोधनको विषयलाई राजनीतिक स्वार्थ वा तत्कालीन सत्ता समीकरणसँग जोडेर अघि बढाउन नहुने बताएकी छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एमाले संविधान संशोधनको अवधारणाको विरोधमा नरहेको स्पष्ट पार्दै संविधानका मूल आधार र व्यवस्थालाई असर पर्ने गरी कुनै परिवर्तन स्वीकार्य नहुने धारणा राखिन् ।
उपनेता अर्यालले संविधान मुलुकको ऐतिहासिक संघर्ष, जनआन्दोलन र जनताको सार्वभौम अधिकारबाट स्थापित दस्ताबेज भएको उल्लेख गर्दै यसको संशोधन प्रक्रिया व्यापक सहमति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाइनुपर्ने बताइन् ।
उनले पछिल्लो राजनीतिक अभ्यासले संवैधानिक सर्वोच्चता, शक्ति सन्तुलन, नागरिक स्वतन्त्रता र शासन प्रणालीका आधारभूत मान्यतामा प्रश्न उठाउने अवस्था सिर्जना गरेको टिप्पणी गरिन् ।
सरकारले सुशासन, विकास, मानव अधिकार तथा राष्ट्रिय हितका विषयमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउँदै उनले राज्य सञ्चालनमा देखिएका कमजोरीप्रति एमालेको ध्यानाकर्षण रहेको बताइन् ।
यसैगरी, प्रधानमन्त्रीबाट भारतसँग सम्बन्धित सीमा विषयमा व्यक्त धारणा नेपालको ऐतिहासिक दृष्टिकोण र राष्ट्रिय स्वाधीनताको भावनासँग मेल नखाने उनको भनाइ थियो। उनले सरकारको परराष्ट्र नीतिमा समेत स्पष्टता आवश्यक रहेको उल्लेख गरिन्