२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निजामती कर्मचारी अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २ करोड ९१ लाख बिगो दाबी

Nada
२०८३ असार २४ गते १७:२३
Shares
निजामती कर्मचारी अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २ करोड ९१ लाख बिगो दाबी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा कार्यरत ८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधी आपूर्ति नै नगरी फर्जी बिल बनाएको र म्याद गुज्रिएका औषधीहरूमा अनियमितता गरी सरकारी सम्पत्ति हानि–नोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

ncell

अख्तियारको अनुसन्धानका अनुसार, अस्पतालका कर्मचारीहरूले औषधी आपूर्तिकर्ताहरूसँग साठगाँठ गरी अस्पतालमा औषधी नै आपूर्ति नगरी सफ्टवेयरमा इन्ट्री गरेर ठुलो रकम हिनामिना गरेको पाइएको छ । अस्पतालको स्टोर र ब्यापिङमा करोडौं मूल्यका औषधीहरू म्याद गुज्रिएर फालिएको अवस्थामा फेला परे पनि कम्प्युटरको स्टक विवरणमा भने ती औषधीहरू मौज्दात देखाइएको थियो ।

यस्तै, फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ बमोजिम प्रत्येक आर्थिक वर्षको अन्त्यमा गर्नुपर्ने मौज्दात परीक्षणसमेत नगरेको र महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका कैफियतहरूलाई समेत बेवास्ता गरेको भेटिएको छ ।

आपूर्तिकर्तासँगको सम्झौता अनुसार म्याद गुज्रिएका औषधीहरू फिर्ता गर्नुपर्नेमा कर्मचारीहरूले त्यसो नगरी उल्टै फर्महरूको धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि 'स्टोरमा म्याद गुज्रिएका औषधीहरू छैनन्' भनी लिखित रूपमै झुटो जानकारी दिएको पुष्टि भएको छ । यसरी कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले फार्मेसी अधिकृत तथा युनिट इन्चार्ज दीपा ढुंगाना, फार्मेसी सहायक तथा युनिट इन्चार्ज लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक तथा युनिट इन्चार्ज दिनेश पन्त, वरिष्ठ फार्मेसी सहायक तथा स्टोर किपर विनोद पोखरेल, वरिष्ठ फार्मेसी सहायक तथा स्टोर किपर शर्मिला श्रेष्ठ, फार्मेसी सहायक तथा स्टोर किपर केशव राज न्यौपाने र फार्मेसी सहायक सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरू सबैजनासँग जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कडा कारबाहीको माग गरेको छ ।

सम्बन्धित खबर