
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले गोकर्णेश्वरका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले खानेपानी वितरणमा कर्मचारीहरूको लापरबाही र व्यवस्थापन कमजोरीका कारण स्थानीय बासिन्दा समस्यामा परेको आरोप लगाए । उनले मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै खानेपानीबाट वञ्चित हुनु दुःखद भएको बताए ।
उनले गोकर्णेश्वरका नागरिकले खानेपानी नपाए मेलम्चीको पानी वितरण रोक्ने चेतावनी दिँदै, आवश्यक परे ड्याम बन्द गर्ने तथा पाइप रोक्ने वा फुटाउनेसम्मका अभिव्यक्ति दिएका छन् ।
उनले भने, ‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु। गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन ।’
कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाए । उनले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ (सञ्जाल) सक्रिय रहेको दाबी गरे ।