
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाइन् । प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा हुने उल्लेख गर्दै सीमाजस्तो संवेदनशील विषयमा प्रयोग हुने प्रत्येक शब्दले अन्तर्राष्ट्रिय स्तरमा देशको सन्देश निर्धारण गर्ने बताइन् ।
ओलीले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको स्मरण गराउँदै पार्टीको मञ्चलाई संसद भन्दा माथि राख्ने अभ्यासले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको तर्क गरिन् । उनले सत्तापक्षका सांसदहरूको मौनताप्रति पनि प्रश्न उठाइन् ।
उनले राष्ट्रको विषयमा दलगत निष्ठा भन्दा माथि उठ्न आग्रह गरिन् । उनले इतिहासले प्रतिपक्षको भूमिका मात्र नभई सत्तापक्षको लाचारी र मौनताको पनि मूल्यांकन गर्ने उल्लेख गरिन् ।