
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइसम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आगामी सुनुवाइलाई प्रक्रियासम्मत ढंगले सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
उनले सुनुवाइका लागि उजुरी दिने समयभन्दा पनि प्रक्रिया, पारदर्शिता र गुणस्तरीय छलफल महत्वपूर्ण हुने बताए । उनले प्रस्तावित पदाधिकारीहरूको योग्यता, क्षमता, कार्ययोजना र प्रतिबद्धताबारे नागरिकले स्पष्ट रूपमा जानकारी पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । सार्वजनिक रूपमा व्यक्त गरिएका प्रतिबद्धताले सम्बन्धित पदाधिकारीलाई भविष्यमा थप जिम्मेवार बनाउने उनको भनाइ छ ।
उनले अमेरिकालगायतका मुलुकमा हुने संसदीय सुनुवाइको उदाहरण दिँदै योग्य उम्मेदवारको क्षमता र प्रतिबद्धता सार्वजनिक रूपमा परीक्षण हुने अभ्यासबाट नेपालले पनि सिक्नुपर्ने बताए ।