
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अफ्साना बानुले सरकारको कामकारबाहीमा नागरिकका समस्या र गुनासो सुन्ने संयन्त्र प्रभावकारी हुनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बानुले जनताका समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व भए पनि कतिपय अवस्थामा सम्बन्धित निकायबाट अपेक्षित जिम्मेवारी बोध देखिन नसकेको धारणा राखिन् ।
उनले विशेष गरी गृह मन्त्रालयसँग जोडिएका जनसरोकारका विषयमा नागरिकले सम्पर्क गर्दा सहज पहुँच र प्रभावकारी प्रतिक्रिया नपाएको गुनासो आउने गरेको उल्लेख गरिन् ।
गृह मन्त्रालय शान्ति सुरक्षा व्यवस्थापन गर्ने महत्वपूर्ण निकाय भएकाले त्यहाँबाट नागरिकमैत्री व्यवहार र उत्तरदायित्व अपेक्षित हुने उनको भनाइ थियो ।
सांसद बानुले नागरिकका समस्या सम्बोधन गर्ने क्रममा गैर जिम्मेवार व्यवहार देखिनु उचित नभएको भन्दै सम्बन्धित निकायलाई संवेदनशील बन्न आग्रह गरिन् ।
यसैबीच, उनले जेनजी आन्दोलनका विषयमा गम्भीरतापूर्वक छलफल गर्दै समाधानको पहल र सहकार्य अघि बढाएको भन्दै पार्टी सभापति रवि लामिछानेको भूमिकाको प्रशंसा गरिन् । यस्ता पहलले युवापुस्तामा राज्यप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।