
काठमाडौँ : मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएर नगरपालिका सञ्चालन नै ठप्प पारेको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गरेका छन् । शाह प्रधानमन्त्री भएपछि मौलापुरमा उनको पुतला दहन भएको यो पहिलो घटना हो ।
महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइँदा नगरपालिका सञ्चालन प्रभावित भएको भन्दै रौतहटको मौलापुरमा स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
प्रदर्शनकारीले नगरपालिकाको बजेट कार्यान्वयन रोकिएको, विकास निर्माणका काम प्रभावित भएको तथा दैनिक सेवा प्रवाहसमेत ठप्प भएको आरोप लगाएका छन् । उनीहरूले प्रधानमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीविरुद्ध नाराबाजी गर्दै तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका छन् ।
स्थानीयका अनुसार मन्त्रालयबाट सरुवा गरिएका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यस्थलमा अनुपस्थित छन्। उनलाई फिर्ता बोलाइए पनि अर्को अधिकृत नपठाइँदा नगरपालिका प्रशासन अन्योलमा परेको उनीहरूको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण छ महिनादेखि नगर शिक्षकको तलब रोकिएको, बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गतका गर्भवती तथा सुत्केरी महिलाले पाउने सुविधा प्रभावित भएको र सरसफाइ कर्मचारीले समेत तलब नपाउँदा नगरको सरसफाइ व्यवस्था प्रभावित बनेको स्थानीयको दाबी छ ।
यसअघि सर्वोच्च अदालतले निःशुल्क विद्युत् र खानेपानीलगायत जनमुखी कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश दिए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आदेश कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ ।
नगरप्रमुख रिना साहले संघीय सरकारले नियतवश प्रमुख प्रशासकीय अधिकृत नपठाएर नगरपालिका सञ्चालनमा अवरोध सिर्जना गरेको आरोप लगाएकी छन् । यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।