
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीतिसँग असंगत गतिविधिलाई अनुमति दिएको आरोप लगाउँदै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारी अनुमति र सहभागिताको विषय उठाउँदै आपत्ति जनाएका हुन् ।
उनले असार २२ गते काठमाडौँको स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रमले नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने धारणा व्यक्त गरे। कार्यक्रममा अमेरिका, फ्रान्स, युरोपेली संघ र अस्ट्रेलियाका राजदूतहरूको उपस्थितिलाई समेत उनले संवेदनशील विषयका रूपमा व्याख्या गरे ।
नेपालले आफ्नो भूमिलाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रमुख सचेतक महरले पछिल्लो घटनाक्रमले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाएको बताए ।
उनले चीनका लागि नेपालका पूर्व राजदूतहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त विषयमा चासो व्यक्त गरेको स्मरण गराउँदै सरकारको निर्णय र उद्देश्यबारे संसद्लाई जानकारी गराउन माग गरे ।
प्रमुख सचेतक महरले नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिप्रति सरकारको प्रतिबद्धता स्पष्ट हुनुपर्ने बताए। उनले नेपाललाई कुनै पनि विदेशी शक्ति प्रतिस्पर्धाको केन्द्र बन्न नदिन सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।
परराष्ट्र मामिलामा सरकारको पछिल्लो व्यवहार अपरिपक्व देखिएको टिप्पणी गर्दै महरले छिमेकी मुलुकसँगको सम्बन्ध सञ्चालनमा गम्भीरता र संवेदनशीलता अपनाउन आग्रह गरे । उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।