२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णुपुर धान प्रशोधन उद्योगमा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ असार २५ गते १७:०७
Shares
विष्णुपुर धान प्रशोधन उद्योगमा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र कुमार महतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्णुपुर गाउँपालिका वडा नं. १ मा धान प्रशोधन उद्योग स्थापना गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

ncell

आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत ५० लाख रुपैयाँ बजेट विनियोजन भएको 'विष्णुपुर धान प्रशोधन उद्योग स्थापना' कार्यक्रममा व्यापक अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड र उपभोक्ता समितिको मिलेमतोमा फर्जी मूल्यांकन गरी नेपाल सरकार र गाउँपालिकाको रकम बदनियतपूर्वक हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

सार्वजनिक खरिद नियमावली विपरीत लागत अनुमान तयार गरी १ करोड ११ लाखभन्दा बढीको सम्झौता गरिएको र सहकारीले बेहोर्नुपर्ने ५० प्रतिशत लागत साझेदारी समेत नगराई सरकारी अनुदानको रकम भुक्तानी गरिएको पाइएको छ । हाल उक्त योजनाको संरचना अपूर्ण, जीर्ण र कुनै पनि प्रयोगमा आउन नसक्ने अवस्थामा रहेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महतसहित तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सहकारी संस्थाका तत्कालीन सञ्चालक समिति सदस्य राजेश्वर प्रसाद सिंह, धान प्रशोधन उद्योग स्थापना निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, समितिकी कोषाध्यक्ष कविता कुमारी र समितिका सचिव रामबाबु यादवविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

सम्बन्धित खबर