
काठमाडौँ : काठमाडौँको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ती महिलाको शव बल्खु कुमारी क्लबभन्दा तल खोलामा फेला परेको हो । घटनापछि प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरेको थियो ।
प्रहरीका अनुसार करिब ३५ वर्षीया ती महिलाले कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा हाम फालेकी थिइन् । उनको परिचय भने हालसम्म नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले बताए ।
महिलाले खोलामा हाम फाल्नुको कारण पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।