२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

​मिर्गौला पीडित किरण देवीलाई आर्थिक सहयोग, चार सन्तानलाई कक्षा १० सम्म निःशुल्क शिक्षा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २६ गते ०८:४६
Shares
​मिर्गौला पीडित किरण देवीलाई आर्थिक सहयोग, चार सन्तानलाई कक्षा १० सम्म निःशुल्क शिक्षा

रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ४ निवासी ३४ वर्षीया किरण देवी पटेलको दुवै मिर्गौला फेल भई जीवनमरणको दोसाँधमा परेपछि उनको उपचारका लागि स्थानीय स्तरबाट मानवीय सहयोग जुट्न थालेको छ ।

ncell

बिरामी पटेलको नाजुक स्वास्थ्य स्थिति र चरम आर्थिक संकटबाट गुज्रिरहेको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै स्थानीय समाजसेवी र शैक्षिक संस्थाले आर्थिक तथा शैक्षिक सहयोगको हात अगाडि बढाएका हुन् । ​

लामो समयदेखि मिर्गौला रोगबाट पीडित किरण देवीको उपचार खर्च जुटाउन परिवारलाई धौ–धौ परिरहेको अवस्थामा स्थानीय समाजसेवी सन्तोष पौडेलले व्यक्तिगत तर्फबाट नगद सहयोग प्रदान गरेका हुन् ।

पौडेलले बिरामीको औषधोपचार र अल्पकालीन राहतका लागि नगद रु. १० हजार आर्थिक सहयोग हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै समाजसेवी पौडेलले यो सानो सहयोगले पीडित परिवारको घाउमा मलम लाग्ने विश्वास व्यक्त गर्दै अन्य सहयोगी मनहरूलाई पनि किरण देवीको जीवन रक्षाका लागि अगाडि आउन अपील गरे । ​

घरको मुख्य खम्बा र ममताकी खानी आमा नै गम्भीर बिरामी परेपछि ओरालो लागेको पारिवारिक अवस्थाका कारण बालबालिकाहरूको शिक्षा पूर्ण रूपमा अवरुद्ध हुने जोखिम बढेको थियो । सोही संवेदनशीलतालाई मनन गर्दै गौरस्थित स्थानीय प्रसिद्ध शैक्षिक संस्था इन्टरनेशनल बाल एकेडमी आई.बी.ए. स्कुलले एक उदाहरणीय र प्रसंशनीय निर्णय गरेको छ । ​

विद्यालय प्रशासनले किरण देवीका चारै जना सन्तानको भविष्य अन्धकार हुन नदिन माध्यमिक तह (कक्षा १०) सम्मको सम्पूर्ण शिक्षा पूर्ण रूपमा निःशुल्क गर्ने घोषणा गरेको छ। विद्यालयमा बिनाकुनै शुल्क (शतप्रतिशत छात्रवृत्तिमा) अध्ययनको सुवर्ण अवसर पाउने बालबालिकाहरूमा ​१० वर्षीय अमन पटेल, ​९ वर्षीया रुची पटेल, ​७ वर्षीया वर्षा पटेल, ​४ वर्षीय अमोल पटेल रहेका छन् ।

​विद्यालयको यो निर्णयसँगै आमाको उपचारमा केन्द्रित हुनुपर्ने बाध्यताका बीच बालबालिकाहरूले शिक्षाबाट बञ्चित हुनुपर्ने मानसिक तनावबाट पिडारी परिवारले ठूलो मुक्ति पाएको छ । ​​एकै पटक बज्रपात आइलागेको पटेल परिवारका लागि समाजसेवी सन्तोष पौडेलले गरेको आर्थिक सहयोग र आई.बी.ए. स्कुले बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न चालेको यो कदमको स्थानीय बुद्धिजीवी, नागरिक समाज र आम सर्वसाधारणले उच्च प्रशंसा गरेका छन् । ​

आर्थिक अभावका कारण उपचार नै रोकिने र बालबालिकाको भविष्य बर्बाद हुने अवस्थामा यो सहयोग हाम्रा लागि भगवान्‌को वरदान सावित भएको छ, पीडित परिवारका एक सदस्यले गहभरी आँसु पार्दै कृतज्ञता व्यक्त गरे । ​यो मानवीय कार्यले समाजमा अझै पनि परोपकारी भावना जीवितै रहेको सन्देश दिएको छ भने पीडित परिवारलाई मानसिक रूपमा बलियो भएर रोगसँग लड्ने थप हौसला मिलेको देखिन्छ ।

सम्बन्धित खबर