
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्रिपुरेश्वरमा भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारको भूमिका र संवेदनशीलतामाथि प्रश्न उठाएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस सांसद बासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा राज्यको तत्कालीन प्रतिक्रिया कमजोर देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै विगतमा राज्य व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाउने नेतृत्वले अहिले जनतासँग जोडिएका गम्भीर घटनामा जिम्मेवारीपूर्वक उपस्थित हुनुपर्ने बताइन् । उनले प्रधानमन्त्रीलाई प्रतीकात्मक रूपमा ‘कालो चस्मा खोल्ने’ समय आएको टिप्पणी गरिन् ।
सांसद थापाले घटनाका क्रममा पीडितको उद्धारका लागि आवश्यक राज्य संयन्त्र तत्काल परिचालन हुन नसकेको दाबी गर्दै एम्बुलेन्ससमेत समयमै उपलब्ध नगराइएको आरोप लगाइन् ।
उनको भनाइमा सरकार जनताको जीवन रक्षा र मानवीय संवेदनशीलताभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित देखिएको छ । उनले राज्यको प्राथमिकता नागरिकको सुरक्षा र समस्या समाधानतर्फ हुनुपर्नेमा जोड दिइन् ।
यसअघि सुकुम्वासी व्यवस्थापनका क्रममा भएको घटनालाई स्मरण गर्दै थापाले राज्यका निर्णय र कार्यशैलीका कारण नागरिकको ज्यान जाने अवस्था आउन नहुने बताइन् । उनले सरकारलाई जनताका पीडा र संवेदनशील विषयमा थप उत्तरदायी बन्न आग्रह गरिन् ।