
काठमाडौं : काठमाडौंको टोखा नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाहरूको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको कारबाही अघि बढेपछि नगरपालिका र सम्बन्धित वडाहरूमा हलचल मच्चिएको छ ।
यसैक्रममा वडा नं. १०, गोंगबुमा रहेको पूर्व रेडक्रस भवन तथा हालको आधारभूत स्वास्थ्य केन्द्रमा लामो समयदेखि सञ्चालनमा रहेको कस्मेटिक पसल ७ दिनभित्र खाली गर्न वडाध्यक्ष मचाकाजी महर्जनले पसलधनी कविता श्रेष्ठको नाममा सूचना जारी गरेका छन् । उक्त सटरको भाडा अनधिकृत व्यक्तिहरूले लामो समयदेखि असुलिरहेको भन्दै २०८२ पुस ६ गते अख्तियारमा उजुरी परेपछि आयोगले गत जेठ २८ गते टोखा नगरपालिकासँग आवश्यक कागजात तथा राय माग गर्दै पत्राचार गरेको थियो ।
अख्तियारको पत्रमा जनप्रतिनिधिसहित केही व्यक्तिको नाम किटानीका साथ उल्लेख भएपछि नगरपालिकाले सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गरी लिखित जवाफ माग्ने प्रक्रिया अघि बढाएको टोखा नगरपालिका निकट एक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार टोखा–९ र टोखा–१० का स्थानीयहरूले सार्वजनिक जग्गा तथा भवन संरक्षणका लागि लामो समयदेखि नगरपालिकामा पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएपछि केही सम्बन्धित व्यक्तिको नाम उल्लेख गर्दै अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीपछि नगरपालिकाले सार्वजनिक जग्गामा बनेका संरचनाहरू व्यक्तिगत रूपमा भाडामा नलगाउन आग्रह गर्दै सम्बन्धित पक्षसँग लिखित जवाफ मागेको हो । अख्तियारले टोखा नगरपालिकालाई पठाएको पत्रमा रेडक्रस भवन (हालको आधारभूत स्वास्थ्य केन्द्र) को भवन लामो समयदेखि व्यक्तिले भाडामा लगाई रकम असुलेको उल्लेख गरिएको छ ।
टोखा–१० स्थित महेन्द्रेश्वर महादेव मन्दिर क्षेत्रको १७ रोपनी जग्गामा बनेका ३४ वटा घर तथा टहरा खाली गराई जग्गा संरक्षण गर्नुपर्ने माग स्थानीयहरूले लामो समयदेखि गर्दै आएका छन् । त्यस्तै अख्तियारमा परेको उजुरीमा टोखा–१० को हदबन्दीमा परेको ११ रोपनी जग्गा समेत व्यक्तिहरूले भाडामा लगाई आम्दानी गरिरहेको उल्लेख गर्दै सम्बन्धित व्यक्तिमाथि कारबाही गर्न माग गरिएको एक स्थानीयले नाम नखुलाउने सर्तमा बताएका छन् । अख्तियारले टोखा नगरपालिकालाई पठाएको जरुरी पत्रमा १५ दिनभित्र टोखा–९ र टोखा–१० मा सार्वजनिक जग्गामा बनेका घर, टहरा तथा जग्गा भाडामा लगाउन अपनाइएको विधि, प्रक्रिया र भाडाबापत दाखिला भएको रकमसम्बन्धी कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
यस विषयमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले अख्तियारबाट केही व्यक्तिको नाममा पत्र आएको र लिखित जवाफ माग्ने काम भइरहेको बताए । उनले सार्वजनिक भवनमा बनेका घर, टहरा वा सार्वजनिक जग्गा कसैले व्यक्तिगत रूपमा भाडामा लगाई आम्दानी गर्न नपाइने भन्दै नगरपालिकाले सार्वजनिक जग्गा तथा भवन संरक्षण गर्ने सरकारको नीतिअनुसार काम गरिरहेको दाबी गरे । उनले भने,‘कोही कसैले गलत गरेको प्रमाण भेटिए कानुनअनुसार कारबाही हुनेछ ।’
यता टोखा–१० का वडाध्यक्ष मचाकाजी महर्जन र वडासदस्य जगतलाल शाहीले आधारभूत स्वास्थ्य केन्द्रको भवन खाली गर्न ७ दिने सूचना जारी गरिसकेको र त्यसबारे नगरपालिकालाई जानकारी गराइसकेको बताएका छन् ।
स्थानीयका अनुसार टोखा नगरपालिकाले वडा नं. ४, ५, ७, ८, ९ र ११ मा सार्वजनिक जग्गा संरक्षणको काम गरिरहे पनि वडा नं. १० मा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणमा अपेक्षित चासो नदेखाएको गुनासो रहेको छ ।