
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी नेवाः समाजको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । दीप प्रज्वलन, राष्ट्रियगान तथा नेपाल भाषाको राष्ट्रियगानबाट सुरु गरिएको समाजको सातौं वार्षिक साधारण सभाले महासचिव देवेन्द्र नारायण श्रेष्ठको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
‘मर्दापर्दा नेवाः समाज’ भन्ने मुख्य उद्देश्यसहित २०७४ सालमा स्थापित समाजले वैदेशिक रोजगार क्षेत्रमा सुधारका आवाज उठाउनुका साथै विपन्न विद्यार्थीको शिक्षा तथा अपांगता भएका र असहायहरूलाई खाद्यान्न, लत्ताकपडा र आर्थिक सहायता उपलब्ध गराउँदै समाजसेवाका कार्य गर्दै आइरहेको छ ।

साधारण सभाको समापनका अवसरमा समाजका अध्यक्ष किसन प्रधानले नेवाः समाजले प्रचारप्रसार नगरे पनि विभिन्न प्रकारका पुण्यकार्य गरिरहेको बताए । उनले समाजमा चिनिन र प्रतिष्ठा कमाउन समाजसेवाबाहेक अन्य माध्यम नभएको भन्दै निरन्तर समाजसेवाका काम गर्न समाजमा आबद्ध व्यवसायीहरूलाई आग्रह गरे ।
अध्यक्ष प्रधानले हाल वैदेशिक रोजगार क्षेत्र परिवर्तनको जटिल चरणबाट गुज्रिरहेको भन्दै सरकारले स्वदेश वा विदेशमा बिचौलियारहित व्यवसाय बनाउने प्रयास गरिरहेकोले व्यवसायीहरू त्यसका लागि तयार रहनुपर्ने अवस्था आएको उल्लेख गरे ।
एउटा व्यवसायीले निःशुल्क कामदार पठाइरहेको कम्पनी भड्काउने र अनुचित लगानी गरेर डिमान्ड हत्याउने प्रवृत्ति त्याग्नुपर्ने बेला आएको भन्दै अध्यक्ष प्रधानले वैदेशिक रोजगारसम्बन्धी ऐन–कानुनको परिपालनामा व्यवसायी स्पष्ट र पारदर्शी हुनैपर्नेमा पनि जोड दिए ।

महासचिव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै ‘मर्दापर्दा नेवाः समाज’ भन्ने मान्यताअनुसार समाजले सांस्कृतिक क्षेत्रमा उल्लेखनीय काम गरेको सभालाई जानकारी गराए । उनले समाजअन्तर्गतको सांस्कृतिक समिति सदस्य विद्या बज्राचार्यको अग्रसरतामा गत भदौ २० गते प्रदेशस्तरीय कार्यक्रममा नेवाः समाजको सामूहिक सहभागिता, राष्ट्रिय भिन्तुना ¥याली मूल समारोह समितिमा सहभागितासहित ‘द्वन्द्व पीडित र अपांग समाज नेपाल’ नामक संस्थाद्वारा सञ्चालित अपांग बाल÷वृद्ध सेवागृह, शंखरापुरमा गत पुस ११ गते बिहानको भोजन तथा जाडो मौसमका कपडाहरू वितरण गरिएको जानकारी गराए ।
महासचिव श्रेष्ठले समाजको मूल उद्देश्य सामाजिक कार्य गर्नु नै रहेको, तर वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि पनि रचनात्मक काम गरिरहेको बताए । महासचिव श्रेष्ठले आगामी दिनमा समयसापेक्ष कार्यक्रम बनाएर समाजलाई जीवन्त बनाइराख्ने प्रयत्नलाई निरन्तरता दिने, नेवाः समाजलाई आम जनतामाझ थप चिनाउने गतिविधि सञ्चालन गर्न एक अक्षयकोष स्थापना गर्ने तथा छाता संगठनका लागि समाज भोट बैंक मात्र नभई आफ्नो मूल्य–मान्यतासहित स्थापित हुने स्पष्ट सन्देश दिने कार्यक्रम ल्याइने जानकारी दिए ।
कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठले २ लाख ७६ हजार रुपैयाँ आम्दानी, २ लाख ६ हजार रुपैयाँ खर्च र ७० हजार रुपैयाँ बचत रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष, समाजका सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागका सदस्य सुजितकुमार श्रेष्ठले वैदेशिक रोजगारको योगदान कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ३० प्रतिशत र दैनिक जीवनमा ६० प्रतिशत परिवारसम्म पुगेकाले यो क्षेत्र संवेदनशील र चुनौतीपूर्ण रहेको र पछिल्लो समय जोखिमपूर्ण अवस्थामा पुगेको टिप्पणी गरे ।
उनले वर्तमान सरकारबाट वैदेशिक रोजगार क्षेत्र सुरक्षित र व्यवस्थित हुने अपेक्षा आम व्यवसायीको रहेको र यसलाई मर्यादित बनाउन कामदारको सीप विकास तथा दक्षता अभिवृद्धि गर्नुको विकल्प नरहेको बताए । उनले नेपालमा पर्याप्त रोजगारी नभएको अवस्थामा वैदेशिक रोजगारी बाध्यता बनेकाले वैदेशिक रोजगार ऐन संशोधन गरी कामदार र व्यवसायीमुखी बनाउन जरुरी रहेको बताए । उनले वर्तमान वैदेशिक रोजगार ऐन व्यवसायी र कामदारमुखी नभई कर्मचारीमुखी भएकाले व्यवसायी असुरक्षित भएको बताए ।

श्रेष्ठले सेवा शुल्कमा परिमार्जन गरी एक महिनाको तलब बराबरको सेवाशुल्क तोक्ने विषयमा लगभग सहमति भए पनि कतिपयले दुई महिना मागेको र एमालेनिकट मजदुर संगठन जिफन्टले टिकट अनिवार्य रूपमा रोजगारदाताले नै तिर्नुपर्ने अडान राखेकाले टुंगोमा पुग्न नसकेको बताए । उनले भने, ‘यसमा दृश्य र अदृश्य शक्ति लागेका छन् । वैदेशिक रोजगारमा जाने कामदार स्वयं सडकमा नआएको अवस्थामा पेसा–व्यवसाय सुरक्षित हुँदैन ।’
समाजका सल्लाहकार तथा मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठले २०४२ सालमा वैदेशिक रोजगार ऐन आएदेखि संस्थागत भएको नेपालको वैदेशिक रोजगार व्यवसायका विभिन्न अनुभव सुनाउँदै यस क्षेत्रको उन्नयनका लागि मध्यान्हले छापा, अनलाइन र मल्टिमिडियामार्फत समाचार तथा विचार अगाडि बढाइरहेको जानकारी दिए । प्रधान सम्पादक श्रेष्ठले संस्कार जोगाउन संस्कृति जोगाउनु पर्ने र संस्कृति बचाएमात्र पहिचान जोगिने भन्दै नेवाः समाजले व्यवसायीका समस्या समाधानसँगै संस्कृति संरक्षणका गतिविधिलाई ध्यान दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

संघका निवर्तमान द्वितीय उपाध्यक्ष एवं समाजका सल्लाहकार देव खोखालीले व्यवसायी अत्यन्तै चुनौतीपूर्ण अवस्थामा प्रवेश गरेको जिकिर गर्दै व्यवसायी र सरकार २०७२ सालदेखि कार्यान्वयनमा आएको फ्रि भिसा, फ्रि टिकटको वरिपरि घुमिरहेको, तर परिस्थिति धेरै परिवर्तन भएको टिप्पणी गरे । उनले आफू संघमा हुँदा कम्पनीले हवाई टिकट नदिए कामदारले टिकट काटेर वैदेशिक रोजगारीमा जाने अवस्था रहेको भन्दै संघको नयाँ नेतृत्वले कामदार, व्यवसायी, नेपाल सरकार र गन्तव्य मुलुकका कानुन गरी चारै स्टेकहोल्डरलाई समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
उनले कसैले पनि ‘इम्प्लोई पे’ मोडेललाई आफ्नो मात्रै पेवा ठान्न नहुने भन्दै समस्या समाधानका लागि व्यवसायी एकता अपरिहार्य रहेकोमा जोड दिए । एक महिनाको तलबमा संघले स्वीकार गरे त्यो जोखिमपूर्ण ठहरिने भन्दै खोखालीले संघलाई घचघचाउन व्यवसायी चनाखो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजको नयाँ सदस्यता लिएका नेपाल गेट वे ओभरसिज प्रा.लि.का सञ्चालक अमित श्रेष्ठ, सत्य साई ओभरसिज प्रा.लि.की सञ्चालिका जुनु श्रेष्ठ, प्रयास रि इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.का सञ्चालक रोशन प्रधान, प्यारागन एचआर म्यानेजमेन्ट प्रा.लि.की सञ्चालिका सुनिता श्रेष्ठ, ब्लु बर्ड ओभरसिज प्रा.लि.का सञ्चालक विकलहरि राजभण्डारी, अल्फा सिग्मा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक कृष्णहरि श्रेष्ठ, फेसिलिटी इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.का सुसान मानन्धर, क्याराभान एचआर सोलुसन प्रा.लि.की सञ्चालिका पूजा श्रेष्ठ तथा एलाइड वर्क फोर्स सोलुसन प्रा.लि.का सञ्चालक प्रकाश श्रेष्ठलाई नयाँ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । नयॉ सदस्यहरुलाई प्रधान सम्पादक तथा समाजका सल्लहकार श्रेष्ठले खादा र समाजका अध्यक्ष प्रधानले प्रमाणपत्र प्रदान गरेर स्वागत गरेका थिए ।
कार्यक्रममा ‘हली’ चलचित्रकी निर्माता जस्मिन श्रेष्ठले चलचित्रको पृष्ठभूमिबारे प्रकाश पारिन् भने उक्त चलचित्रका कलाकारहरूले साधारण सभामा सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन प्रथम उद्घोषक गगन श्रेष्ठ, द्वितीय उद्घोषक दिनेश श्रेष्ठ र तृतीय उद्घोषक प्रवीणकुमार श्रेष्ठले गरेका थिए ।