
काठमाडौं : उच्च शिक्षाका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै नेपाली विद्यार्थीहरूलाई ठगी गरेको आरोपमा ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ब्युरोका अनुसार पक्राउ पर्नेहरूमा डिल्लीबजारस्थित एडुपोर्ट प्रा.लि.का सञ्चालकहरू गोकर्णेश्वरका ४० वर्षीय रुपक कोइराला, पोखराका ३७ वर्षीय राजेश भण्डारी र सिमराका ३७ वर्षीय सन्तोष खतिवडा रहेका छन् । त्यसैगरी, पुतलीसडकस्थित वेष्टफोर्ड एजुकेशन प्रा.लि.की सञ्चालिका चिन्तु श्रेष्ठ (सोनी श्रेष्ठ) लाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बानेश्वरस्थित प्रोप एभिएसन प्रा.लि.सँग आबद्ध चार जना सञ्चालकहरूलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा ललितपुरका ३८ वर्षीय सुरेन्द्र महर्जन, सर्लाही लालबन्दीका ३५ वर्षीय दिवस पोखरेल, सिरहा लहानका २६ वर्षीय मनित आचार्य र धनकुटा पाख्रीबासका ३९ वर्षीय शेखर पाण्डे रहेका छन् । यस्तै कालिमाटीस्थित एस्पायर ग्लोबल प्रा.लि.का २७ वर्षीय सञ्चालक विशाल चापागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सञ्चालकहरूले युएईको शिक्षा मन्त्रालयबाट आधिकारिक मान्यता प्राप्त नगरेका कलेजहरूमा विद्यार्थी पठाउने गरेको र त्यहाँबाट फ्रान्स तथा अस्ट्रेलियालगायतका देशमा ‘क्रेडिट ट्रान्सफर’ हुने भनी झुटो आश्वासन दिएर ठगी गरेको सिआइबीको दाबी छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।