२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

Nada
२०८३ असार २७ गते १२:५१
Shares
एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् ।

ncell

केही दिनअघि ट्राफिक नियम र जरिवानाको विषयलाई लिएर आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कडा घोषणा गरेका हुन् ।

पुनले फेसबुकमा लेख्दै घोषणा गरेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युट्युबरसहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन ।’

ट्राफिक जरिवाना विवादबारे स्पष्टीकरण दिँदै उनले भनेका छन्, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु ।’

उनले लेखेका छन्, ‘त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला। ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला ।’

मन्त्री पुनले अन्तरवार्ता दिँदा ५० हजार जरिबाना गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिँदै माफीसमेत मागेका छन् ।

उनले जरिवानाको विषयमा थप स्पष्ट पार्दै अन्तर्वार्ताकारहरूले आफूलाई सो विषयमा जानकारी नहुँदा नहुँदै पनि ‘कोट्याई कोट्याई’ सोधेको र ५० हजारको प्रसंग पत्रकारहरूले नै निकालेको दाबी गरेका छन् ।

सम्बन्धित खबर