२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शोकका यात्रुलाई सम्मानको छानो : रिडीमा मलामी आश्रमस्थल निर्माण, वर्षौंदेखिको अभाव अन्त्य

Nada
सूर्यप्रसाद भुसाल
२०८३ असार २८ गते २१:०२
Shares
शोकका यात्रुलाई सम्मानको छानो : रिडीमा मलामी आश्रमस्थल निर्माण, वर्षौंदेखिको अभाव अन्त्य

गुल्मी : गुल्मीको रिडीमा अन्तिम संस्कारका लागि पुग्ने शोकाकुल परिवार र मलामीका लागि वर्षौंदेखि महसुस हुँदै आएको आश्रयस्थलको अभाव अन्त्य भएको छ । छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको मलामी आश्रमस्थल आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । 

ncell

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले संयुक्त रूपमा आश्रमस्थलको उद्घाटन गरेका हुन् । स्थानीयवासीका अनुसार यो संरचनाले लामो समयदेखि ओझेलमा परेको नागरिकको वास्तविक आवश्यकतालाई सम्बोधन गरेको छ ।

लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक तीर्थस्थल रिडीमा अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, बागलुङ, स्याङ्जालगायत विभिन्न जिल्लाबाट दैनिकजसो अन्तिम संस्कारका लागि मानिस पुग्ने गर्छन् । हिन्दू धार्मिक मान्यताअनुसार रिडीमा दाहसंस्कार गर्दा दिवंगत आत्माले सद्गति प्राप्त गर्ने, पितृऋण पूरा हुने तथा मोक्ष प्राप्त हुने विश्वास छ । यही कारण रिडी पुस्तौंदेखि धार्मिक आस्था र संस्कारको केन्द्रका रूपमा परिचित रहँदै आएको छ ।

यद्यपि, यति ठूलो धार्मिक स्थलमा मलामी बस्ने व्यवस्थित आश्रयस्थल नहुँदा शोकाकुल परिवार घाम, वर्षा र चिसोमा खुला आकाशमुनि बस्न बाध्य थिए । यही समस्यालाई मध्यनजर गर्दै छत्रदेव गाउँपालिका अध्यक्ष श्रेष्ठको पहलमा रूरूक्षेत्र गाउँपालिकासँग समन्वय गरी संयुक्त लगानीमा आश्रमस्थल निर्माण गरिएको हो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विकास भनेको सडक, पुल र भवन निर्माणमा मात्रै सीमित नहुने बताए । उनले नागरिकले दुःखको घडीमा पनि राज्यको साथ महसुस गर्न सक्ने मानवीय संरचना निर्माण गर्नु नै वास्तविक विकास भएको उल्लेख गरे । 

‘रिडी धार्मिक आस्था र संस्कृतिको केन्द्रका रूपमा विकास भइरहेको छ । यहाँ अन्तिम संस्कारका लागि आउने हजारौँ नागरिकले वर्षौंदेखि घाम, वर्षा र चिसोमा कष्ट भोग्दै आएका थिए । नागरिकको यही पीडालाई महसुस गरेर रूरूक्षेत्र गाउँपालिकासँग सहकार्य गरी आश्रमस्थल निर्माण गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने । 

रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले धार्मिक सम्पदाको संरक्षण, अन्तरपालिका सहकार्य र नागरिकको प्रत्यक्ष आवश्यकतालाई एउटै योजनामार्फत सम्बोधन गर्न सफल भएको बताए । उनले सडक र भवन विकासका सूचक भए पनि नागरिकले दुःखको समयमा पनि राज्यको उपस्थिति महसुस गर्न सक्ने संरचना निर्माण हुनु अझ ठूलो उपलब्धि भएको धारणा राखे । 

कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मणि पन्थी, रूरूक्षेत्र गाउँपालिका उपाध्यक्ष माया ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, प्रवक्ता कमल पौडेल, वडा नं. ३ का अध्यक्ष तेजुप्रसाद खनाल, वडा नं. ८ का अध्यक्ष भीष्म कुँवर, अधिकृत शिव वर्मा, कर्मचारी सन्तोष भुसाललगायत दुवै पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । 

स्थानीयवासीका अनुसार रिडीमा प्रत्येक वर्ष हजारौँ शवयात्रा पुग्ने गरे पनि मलामीका लागि व्यवस्थित आश्रयस्थल निर्माण गर्ने विषयमा विगतमा कुनै पहल भएको थिएन । दुई स्थानीय तहको सहकार्यमा निर्माण गरिएको यो आश्रमस्थलले अब अन्तिम संस्कारका लागि आउने नागरिकलाई सहज र सम्मानजनक वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर