
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठक चैत्र १८मा आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताएका थिए ।
‘रास्वपाले गर्ने पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरू पारदर्शी र नागरिकको अपेक्षाअनुसार हुनेछन’, उनले भनेका थिए । तर, बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा सरकार बनेको साढे तीन महिना नाघ्दासम्म न बालेनले देशबासीलाई सम्बोधन गरे, न त सरकारमाथि उठेका प्रश्नको जवाफ नै दिएका छन् । सरकारका विवादास्पद गतिविधिको चौतर्फी आलोचना हुँदा सभापति लामिछाने मौन छन् भने सत्तारुढ रास्वपा चुपचाप छ ।
गत बिहीबार, शुक्रबार र शनिवार तीन जनाले आफ्नै शरीरमा आगो लगाए । शनिबार सुकुम्बासी राखेको कीर्तिपुरस्थित होल्डङ सेन्टर डुबान हुदाँ नागरिकहरू विचल्लीमा परे । उनीहरुको पक्षमा बोल्न पुगेका जेनजी अभियन्ता मोबिन अन्सारीमाथि कुटपिट र धरपटक गरियो । सरकारले डोजर लगाएर बस्ती हटाएपछि तीनजना सुकुम्बासी ज्यान गइसकेको छ । यी घटनाको आलोचना भइरहँदा सभापति लामिछाने मौन छन् ।
यी सबै घटनामा रास्वपा र वरिष्ठ नेता बालेन नेतृत्वको सरकारले आधिकारिक धारण सार्वजनीक नगर्नु गैर जिम्मेवार र नागरिकप्रतिको जवाफदेहीता नदेखिएको विश्लेषकहरू बताउँछन् । विश्लेषक डा दीपेश घिमिरेले भने, ‘हिजो नेतृत्वबाट राजनीति जवाफदेहीता भएन भनेर जुन किसीमको जेनजी विद्रोह भयो, आज सोही जगबाट बनेको शक्तिशाली सरकारको जवाफदेशीता पहिलाको भन्दा निकै डरलाग्दो भएको देख्छु ।’
यति बलियो सरकार बनेको तीन महिना पुग्दा नपुग्दै देखिएको कार्यशैली र नागरिकमा बढ्दै गएको असन्तुष्टिले सकारात्मक सन्देश नदिएको उनको दाबी छ । राजनीतिमा जवाफदेहीता र पारदर्शीता लोकतन्त्रको मर्म भएको भन्दै उनले भने, ‘हामीले खोजेको लोकतन्त्र भनेको जवाफदेहीतायुक्त राजनीति हो । तर, रास्वपा र उसको सरकार दुबैले नगरिकप्रति समवेदना बोल्दैन, एक शब्दपनि सहानुभूति छैन् । यो राजनीतिक जवाफदेहिताको अत्यान्तै ठूलो अभाव हो ।’ पार्टीको आधिकारीक धारणा समेत सार्वजनीक नहुनु गैर जिम्मेवार र गैर राजनीतिक चरित्र भएको उनले टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शाहको स्वभाव नबोल्ने भए पनि पार्टी सभापति लामिछाने सार्वजनिक मञ्चबाटै नेता भएका हुन् । पछिल्ला घटनाहरूमा सभापति लामिछाने र पार्टीले आधिकारीक धारणा सार्वजनीक नगरेकोप्रति रास्वपाका कतिपय सांसदहरूले असन्तुष्टि खोज्दै आएका छन् । यद्यपि उनीहरू पनि सार्वजनीकरूपमा बोल्न चाहदैनन् । नेताहरूले पार्टी नेतृत्वलाई नै सोध्न आग्रह गर्ने गरेका छन् । ‘हामीले जनताका अगाडी पारदर्शीरूपमा उपस्थित हुँने र नागरिकका समस्या समाधानमा सरकारलाई खवरदारी गर्ने भनेकै हौं’, रास्वपाका एक नेताले मध्यान्हसँग भने, ‘पछिल्लो समय आत्मदाहजस्तो गम्भीर घटनामा पार्टीको धारणा सार्वजनीक गर्नुपर्ने हो । जुन राजनीतिक निर्णय पनि हो । तर किन गरिएन भन्ने विषयमा जानकारीमा छैन् । यो विषयमा पार्टी सभापति÷महामन्त्रीलाई नै सोध्नुपर्छ ।’
राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने उनै लामिछाने पछिल्लो पटक आफ्नै सरकारको कमजोरीप्रति मौन रहेको भन्दै आम आलोचना भइरहेको छ । सरकारले बास उठाएका सुकुम्बासीलाई १५ दिनभित्रै व्यवस्थित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको थियो । उनीहरूलाई साढे दुई महिना बितिसकेको छ । तर, उनीहरूको गाँस र स्थायी बासको प्रबन्ध सरकारले अझै गर्न सकेको छैन् ।
सरकारले आन्दोलनकारी जेनजीहरूलाई धडपकड गरेकोप्रति रास्वपा सांसद सागर ढकालले असन्तुष्टि पोखेका छन् । सुकुम्वासी र जेनजी अभियन्तामाथि सरकारले गरेको व्यवहारप्रति माफी माग्दै उनले भनेका छन, ‘सुकुम्बासी बस्ती र हाम्रै साथीहरूमाथि सरकारको तर्फबाट हुन गएको असुविधा साह्रै कारुणिक छ, आत्महत्या बढ्दै गएको छ’, उनले भने ‘हामीलाई जनताले देश निकै कठिन र अस्तव्यस्त मोडमा सुम्पिनु भएको छ । सजिलो छैन तर हामी सफल हुन चाहन्छौँ । म मेरो तर्फबाट भएका कमी–कमजोरीप्रति नेपाली जनतासँग माफी माग्न चाहन्छु ।’ जनताले रास्वपालाई देश निकै नै कठिन र अस्तव्यस्त मोडमा सुम्पिएकाले सफल हुन सहज नभएको उनी बताउँछन् ।
मुलुक परिवर्तन देख्न चाहने र देशभित्रै गरिखान पाउने आम अपेक्षाकासाथ जनताले दुईतिहाइ मत दिएको रास्वपाले नागरिकको कठिन मोडमा नबोलेको आरोप छ । यद्यपि रास्वपाका नेताहरूले भने सरकारले बोल्नेभन्दा नागरिकले अनुभूति गर्ने गरी काममै व्यस्त भएको दाबी गर्दै आएका छन् । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जनताको अभुतपूर्व मत क्रान्तिबाट आएको सरकारले बोलेरभन्दा जनताले महसुस गर्नेगरी परिणाममुखी काम गर्दै गरेको दाबी गरे ।
बालेन–रवि भेटमा के भयो कुरा ?
आत्मदाहका घटना र सुकुम्बासी समस्या बल्झिँदा चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पार्टी सभापति रवि लामिछानेसँग लामो छलफल गरेका छन् । प्रमुख स्वकीय सचिव कुमार बेन, सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रसहित बालेन आइतबार मध्यान्ह बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए । उनीहरुबीच झण्डै चार घण्टा भेटवार्ता चलेको थियो ।
लामिछानेले प्रधानमन्त्री बालेनलाई मान्छेहरु रोएको आफूलाई ठिक नलागेको बताएको निकटस्रोत बताउँछ । ‘गरीबलाई यसरी रुवाउन हुन्न । उनीहरु सुकुम्बासी होइनन् भने पनि चित्त बुझ्नेगरी व्यवस्थापन गरौं’ उनले बालेनलाई भनेका थिए, ‘छिटो जग्गा उपलब्ध गराएर सरकारको मन हुन्छ भन्ने देखाउनुहोस् ।’
गणेश नेपालीको आत्मदाहले निरासा कायमै रहेको संकेत गरेको पनि प्रसंग निस्केको थियो । त्यसबाहेक पार्टी पदाधिकारीमा मनोनयन, मन्त्रिपरिषद् पुनर्गठन र नियुक्तिबारे पनि बालेन–रविबिच छलफल भएको स्रोत बताउँछ । प्रधानमन्त्री र पार्टी सभापतिबीच छलफलकै बीच ६ मन्त्रीहरुलाई भक्तपुरको खरिपाटी पठाएर सुकुम्बासीसँग छलफल गराइएको थियो ।