२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिरहामा अनियमित विद्युत् आपूर्ति : उपभोक्ता मारमा, जनजीवन प्रभावित

Nada
मुकेश यादव
२०८३ असार २९ गते १४:०९
Shares
सिरहामा अनियमित विद्युत् आपूर्ति : उपभोक्ता मारमा, जनजीवन प्रभावित

सिरहा : पछिल्लो समय सिरहाका उपभोक्ता अनियमित विद्युत् आपूर्ति र न्यून भोल्टेजको समस्याले हैरान भएका छन् । जिल्लाका विभिन्न स्थानमा छिनछिनमै विद्युत् आउने–जाने क्रम नरोकिँदा दैनिक जनजीवन प्रभावित बनेको छ ।

ncell

विशेषगरी ग्रामीण क्षेत्रमा लो–भोल्टेजको समस्या गम्भीर बन्दै गएको छ । पर्याप्त भोल्टेज नपुग्दा मोटर, फ्रिज, चार्जर, कुलर, पंखालगायत विद्युत्ीय उपकरण बिग्रिने क्रम बढेको स्थानीयको गुनासो छ । पछिल्ला दिनमा बढेको अत्यधिक गर्मीका बीच पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणले थप सास्ती खेप्नुपरेको छ ।

बरियारपट्टीस्थित नमस्कार होटलका सञ्चालक वबलु यादवले सरकारले नियमित लोडसेडिङको तालिका सार्वजनिक गरे पनि कम्तीमा नागरिकले आवश्यक तयारी गर्न सक्ने बताए । तर अहिले कुनै पूर्वसूचना बिना विद्युत् जाने र आउने क्रमले झन् समस्या बढाएको उनको भनाइ छ । उनले न्यून भोल्टेजका कारण फ्रिजमा राखिएका खाद्यान्न सामग्रीसमेत बिग्रिने गरेको गुनासो गरे ।

स्थानीयका अनुसार अनियमित विद्युत् आपूर्तिले घरायसी जीवन मात्र नभई उद्योग, व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ । पटक–पटक विद्युत् अवरुद्ध हुँदा उद्योग सञ्चालनमा समस्या उत्पन्न भइरहेको, विद्यार्थीको अध्ययन प्रभावित भएको तथा दैनिक कामकाजमा कठिनाइ बढेको उनीहरूको भनाइ छ ।

लामो समयदेखि जारी रहेको यो समस्याको स्थायी समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित बनाउनुका साथै लो–भोल्टेजको समस्या तत्काल समाधान गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।

यता सिरहाको लहानस्थित विद्युत् प्राविधिक कार्यालयमा विगत तीनदेखि चार महिनासम्म विद्युत् मिटर अभाव हुँदा नयाँ जडान लिन चाहने सेवाग्राही थप समस्यामा परेका छन् ।

स्थानीय बबिता यादवले मिटरका लागि तीन महिनादेखि कार्यालय धाइरहे पनि अहिलेसम्म मिटर प्राप्त गर्न नसकेको बताइन् । कृषि प्रयोजनका लागि आवश्यक मिटर लिन दुई महिनादेखि प्रयास गर्दा पनि उपलब्ध नभएको भन्दै उनले सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरिन् ।

लहान विद्युत् प्राविधिक कार्यालयका प्रमुख अवधेश गुप्ताले विगत तीन–चार महिनादेखि घरायसी तथा कृषि दुवै प्रकारका मिटरको अभाव रहेको स्वीकार गरे । उनका अनुसार हालसम्म घरायसी मिटरका लागि करिब २५० जना र कृषि मिटरका लागि ८० जनाले शुल्क बुझाइसकेका छन् ।

प्रमुख गुप्ताले आवश्यक मिटर कार्यालयमा आइपुगेको जानकारी दिँदै साउन २ गतेदेखि वितरण प्रक्रिया सुरु गरिने बताए ।

स्थानीयवासीले अनियमित विद्युत् आपूर्ति, न्यून भोल्टेज तथा मिटर अभावको समस्या तत्काल समाधान गरी गुणस्तरीय सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

सम्बन्धित खबर