
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुखको भूमिका थप निष्पक्ष, सन्तुलित र समन्वयकारी हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
उनले सभामुख कुनै राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण सदनको साझा जिम्मेवार पदमा रहने भएकाले संसद् सञ्चालन गर्दा सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताए । विपक्षी दलहरूको गतिविधि वा धारणा बुझ्ने नाममा उनीहरूको राजनीतिक अवस्थाको परीक्षण गर्ने प्रयास नगर्न समेत उनले आग्रह गरे ।
नेता आङ्देम्बेले सदनमा कुनै विषयमा असहमति जनाउँदा विपक्षी दलका सबै प्रतिनिधिलाई आफ्ना धारणा राख्ने अवसर उपलब्ध हुनुपर्ने बताए । विरोधका क्रममा एउटै दल वा पक्षबाट एक जनाले मात्र बोल्ने व्यवस्था गर्ने सोच उपयुक्त नभएको उनको भनाइ थियो ।
उनले भने, ‘संसद्मा विरोध जनाएपछि पछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्यो । यो नाडी छाम्ने काम गर्नुहुँदैन संसद्भित्र । सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न । यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ ।’
सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत उनको चेतावनी थियो ।
उनले अगाडि भने, ‘संसद्मा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन् । त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत् सम्झिनुपर्छ । किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो ।’
उनले सरकार पक्षबाट पटक–पटक विवादित अभिव्यक्ति आउने अवस्था रहे पनि विपक्षी दलहरूले संसद्को नियमित कामकारबाही सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गरे । यस्तो सहयोगलाई कमजोरीका रूपमा नलिन उनले चेतावनी दिए ।
सत्तापक्ष र विपक्षीबीच पर्याप्त समन्वय हुन नसक्दा संसद् भित्र समस्या देखिएको भन्दै नेता आङ्देम्बेले संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।