
रौतहट : रौतहटको परोहा नगरपालिका वडा नं. ९ मा रहेको जिल्लाकै दोस्रो पुरानो खाप छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीय बासिन्दाहरूले वृहत् हस्ताक्षर अभियान सुरु गरेका छन् । विगत लामो समयदेखि बन्द अवस्थामा रहेको सो भन्सार सुचारु गराउन दबाब दिने उद्देश्यले सीमा क्षेत्रका नागरिकहरूले आन्दोलनको पहिलो चरणस्वरूप यो अभियान थालेका हुन् ।
नेपाल सिमाना संघर्ष समितिको अगुवाइमा सुरु भएको यस हस्ताक्षर अभियानमा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूको व्यापक सहभागिता रहेको छ । संघर्ष समितिका अनुसार यो अभियान आगामी दुई दिनसम्म निरन्तर सञ्चालन गरिनेछ । अभियान अन्तर्गत सीमा क्षेत्रका करिब ५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूको हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला भंन्सार कार्यालय गौरमार्फत सम्बन्धित निकाय तथा नेपाल सरकारसमक्ष बुझाउने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ ।
यसअघि पनि खाप छोटी भन्सार पुनः सञ्चालनको माग राख्दै स्थानीयवासीले आमरण अनसनसहितका कडा आन्दोलनका कार्यक्रमहरू गरेका थिए । त्यतिबेला सम्बन्धित सरकारी निकाय र प्रशासनले भन्सार छिट्टै सञ्चालनमा ल्याउने आश्वासन दिएपछि अनसन स्थगित गरिएको थियो । तर लामो समय बितिसक्दा पनि सो आश्वासन कार्यान्वयन नभई आफूहरूलाई झुक्याउने काम मात्र भएको स्थानीयको आरोप छ ।
भंंन्सार बन्द हुँदा र सीमा नाकामा कडाइ गरिँदा वर्षौंदेखि चल्दै आएको परापूर्वकालदेखि बेटी-रोटीको सम्बन्धमा गम्भीर असर परेको सीमावासीको गुनासो छ । स्थानीय बासिन्दाका अनुसार सादी-विवाह, दाहसंस्कार, मृत्युभोज जस्ता सामाजिक तथा सांस्कृतिक कार्यका लागि आवतजावत गर्दा समेत कहिले भारतीय सशस्त्र सीमा बल त कहिले नेपालका सशस्त्र प्रहरी बलबाट अनावश्यक सोधपुछ र अवरोध खेप्नु परिरहेको छ ।
सरकारले समेत यस विषयमा ठोस चासो नदेखाएको भन्दै सीमावासीहरूले तीव्र आक्रोश व्यक्त गरेका छन् ।
स्थानीय अगुवाहरूले सरकारले समयमै सीमावासीको यो जायज मागलाई सम्बोधन नगरे खाप छोटी भन्सारकै प्राङ्गणमा पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् । सीमा क्षेत्रको सहज आवागमन, वैध व्यापार र नागरिकको दैनिक जीविकोपार्जनसँग जोडिएको यो मुद्दालाई तत्काल समाधान गर्न उनीहरूले सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।