२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कोशी प्रदेशको वार्षिक बजेट खर्च २६ अर्ब २५ करोडभन्दा बढी

Nada
२०८३ असार २९ गते १६:५०
Shares
कोशी प्रदेशको वार्षिक बजेट खर्च २६ अर्ब २५ करोडभन्दा बढी

काठमाडौँ : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२-८३ मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ बजेट खर्च गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

ncell

प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रारम्भमा ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो। स्रोत व्यवस्थापन तथा खर्चको अवस्थालाई मध्यनजर गर्दै गरिएको मध्यावधि समीक्षापछि बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोड रुपैयाँ कायम गरिएको थियो ।

खर्च विवरणअनुसार चालु शीर्षकमा १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ व्यय भएको छ भने पुँजीगततर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत शीर्षकका लागि विनियोजित १७ अर्ब १४ करोड ६५ लाख रुपैयाँमध्ये ७२.२४ प्रतिशत बजेट खर्च भएको जनाइएको छ ।

मन्त्रालयगत खर्चतर्फ सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । उक्त मन्त्रालयले १० अर्ब ६४ करोड ४३ लाख रुपैयाँ बजेटमध्ये ७ अर्ब ४५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको खर्च २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख रुपैयाँ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६४ करोड ६७ लाख रुपैयाँ खर्च गरेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर