
काठमाडौं : नेपाल मिडिया सोसाइटीले विभिन्न मिडिया हाउसको प्रवेशद्वारमा शंकास्पद गाडी राखेर अवरोध पुऱ्याई सञ्चारमाध्यमलाई त्रसित बनाउन खोजिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । समाचार संकलन, प्रकाशन तथा प्रसारणमा अवरोध पुऱ्याउने नियतले गरिएको यस्तो कार्यप्रति सोसाइटीले भर्त्सना गरेको छ ।
सोमबार तीनकुनेस्थित कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि रहस्यमय तरिकाले निजी सवारी साधनहरू पार्किङ गरी आवागमन अवरुद्ध पारिएको थियो ।
सोसाइटीका महासचिव बोधराज त्रिपाठीले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले जनताको सुसूचित हुने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने उल्लेख गरेका छन् । 'मिडिया हाउसलाई आतंकित पार्ने यस्ता रहस्यमय गतिविधिले सञ्चार क्षेत्रलाई त्रसित बनाउने काम भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।
मिडिया सोसाइटीले सञ्चार गृहमा अवरोध पुऱ्याउने यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिँदै घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ । साथै, आगामी दिनमा यस्ता गतिविधि नदोहोऱ्याउन समेत सचेत गराएको छ ।
