
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणको सुनुवाइ पूरा नभएपछि 'हेर्दाहेर्दैका' लागि भोलिका लागि पेसी राखिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले साेमबार रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । सोही इजलासले आजका लागि सजाय निर्धारणका लागि पेसी तय भएको थियो ।
३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन् । अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो ।
नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ ।
यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।