
अर्घाखाँची : सामुदायिक वनको आम्दानीलाई स्थानीय विकास र किसानको आयआर्जनमा लगानी गर्ने उत्कृष्ट उदाहरण बनेको छ अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ स्थित धिरिखोला सामुदायिक वन उपभोक्ता समूह ।
वनबाट प्राप्त काठ तथा दाउरा बिक्रीको आम्दानीबाट समूहले गाउँको विकाससँगै किसानलाई कृषि सामग्री, पशु स्वास्थ्य सेवा र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
समूहले सोमबार ८ जना व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । एउटा ट्याक्टरको मूल्य ६२ हजार रुपैयाँ रहेकामा किसानले ३१ हजार रुपैयाँ र सामुदायिक वनले बाँकी ३१ हजार रुपैयाँ व्यहोरेको वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।
यस्तै, घाँस काट्ने चापकटर ७५ प्रतिशत अनुदानमा तथा पशुका लागि आवश्यक भिटामिन र जुकाको औषधि निःशुल्क वितरण गरिएको छ ।
अध्यक्ष पौडेलका अनुसार गाउँमा गोरु पाल्ने प्रचलन घट्दै गएपछि खेतबारी जोत्न समस्या भएको थियो । त्यसैले किसानको मागअनुसार हाते ट्याक्टर वितरण गरिएको हो । स्थानीय युवा व्यवसायी दिपक थापाले ट्याक्टर पाएलगत्तै खेत जोत्न थालेको र गोरुले दिनभर लाग्ने काम केही समयमै सम्पन्न हुने भएकाले किसान उत्साहित भएको बताए ।
धिरिखोला सामुदायिक वनले यसअघि पनि उत्कृष्ट वन व्यवस्थापनका लागि नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । गाउँलेले संरक्षण गरेका सालका वनबाट उत्पादन भएको काठ तथा दाउरा बिक्रीको आम्दानीले गाउँको समग्र विकासमा उल्लेखनीय योगदान पुगेको छ ।
सामुदायिक वनको आम्दानीबाट गाउँमा मोटरबाटो निर्माण तथा मर्मत, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन, विद्युत् विस्तार, इन्टरनेट सेवा र धार्मिक संरचना निर्माण गरिएका छन् ।
गत वर्ष मात्रै सडक निर्माण तथा मर्मतमा करिब २० लाख रुपैयाँ खर्च गरिएको थियो भने भंगाला सिँचाइ योजनामा विगतमा करिब ६० लाख रुपैयाँ लगानी भइसकेको छ। चालु वर्ष प्रदेश सरकारले थप ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जसबाट ५५ बिघा जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
सामुदायिक वनकै आम्दानीबाट १८ लाख रुपैयाँ खर्च गरी गाउँमा विद्युत् विस्तार गरिएको, १२ लाख रुपैयाँ लागतमा पाँच कोठे विद्यालय भवन निर्माण गरिएको तथा ७ लाख रुपैयाँमा भगवती मन्दिर निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । खानेपानी प्रणाली मर्मतका लागि वार्षिक करिब ३० हजार रुपैयाँ खर्च हुने गरेको पनि उनले जानकारी दिए ।
वन उपभोक्ता समूहले कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्न वार्षिक ३ प्रतिशत ब्याजदरमा सहुलियत ऋणसमेत उपलब्ध गराउँदै आएको छ । हाल भैंसीपालनका १६, बाख्रापालनका १३, कुखुरापालनका ५ र बंगुरपालनका ३ जना कृषकले उक्त सुविधा लिएका छन् ।
स्थानीयवासीका अनुसार सामुदायिक वनको प्रभावकारी व्यवस्थापन र आम्दानीको सही उपयोगले धिरिखोला–भंगाला क्षेत्र विकासमा आत्मनिर्भर बन्दै गएको छ । गाउँको विकासका लागि सरकारी बजेटको मात्रै भर नपरी आफ्नै स्रोत परिचालन गरेर नमुना बस्ती निर्माण गर्न सकिने उदाहरण धिरिखोला सामुदायिक वनले प्रस्तुत गरेको छ ।