
काठमाडौं : गत शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सचेतक बासना थापाले मुगुका गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको उनको मृत्युबारे सरकारसँग जवाफ मागिन् । लिखित मन्तव्य राख्दै थापाले सरकारको निरीहताप्रति प्रश्न गरेकी थिइन्, ‘के राज्य यति निरीह र असफल भइसकेको हो ? आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो ?’
आकस्मिक समय मागेर थापाले करिब चार मिनेट लिखित भनाइ राखेलगत्तै कांग्रेसकै अर्की सांसद सीता थपलियाले पनि सोही विषयमा लिखित भाषण पढिन् । थपलिया र थापाले उठाएको विषय मात्रै होइन, वाक्य र शब्दावलीहरू समेत हुबहु मिलेका थिए । यद्यपि यो विषयमा थापाले एउटै विषय धेरै सांसदहरूले उठाउँदा शब्दावली पनि मिल्न गएको स्विकारेकी छिन् । उनले मध्यान्हसँग भनिन्, ‘३–४ जनाले नै त्यो विषयलाई उठाउने भन्ने सल्लाहबमोजिम नै बोलेका हौं । हाम्रो स्क्रिप्ट एउटै होइन, एउटै विषयमा बोल्दा शब्दहरू दोहोरिनु ठिकै हो । तर, दुवैजनाले बोलेका केही शब्दहरू मात्रै जोडेर ट्रोल बनाइयो ।’ आफूले सभामुखसँग समय मागेर पाँच मिनेट बोलेर हिँडेको, तर अर्की सांसद सीता थपलियाले दुई मिनेट मात्रै बोलेको र एउटै स्क्रिप्ट नभएको उनको दाबी छ । संसद््को रेकर्ड हेर्दा थापा र थपलियाले बोलेको विषय एउटै, वाक्य र शब्दावलीसमेत दोहोरिएको पाइएको छ ।
थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुकुम्वासीको समस्या, राज्यको भूमिकालगायत विषयमा राज्य किन निरीह बनेको ? भनेर प्रधानमन्त्री बालेनलाई प्रश्न गरिन् । सांसद थपलियाले पनि सोही प्रश्न दोहोर्याएकी थिइन् । आफ्नै दलको सचेतकले बोलिसकेको विषय दोहो¥याएर उनले समय खर्च मात्र गरिनन्, झन्डै एउटै स्क्रिप्ट पढेर सुनाइन् ।
थापा र थपलिया मात्र होइन, यसपटक प्रतिनिधिसभाका अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन् । चर्चित सेलिब्रेटी, पिएचडी, वकिल, अभियन्ता, पूर्वविशिष्ट कर्मचारीबाट पहिलोपटक संसद्मा पुगेका सांसदहरू लेखेरै ल्याएका स्क्रिप्ट पढ्छन्, त्यो पनि अशुद्ध भइरहेको छ । त्यस्ता सांसदहरूमा रास्वपाका बढी छन् भने पुराना दलका नयाँ सांसदले पनि यही शैली अपनाएका छन् ।
रास्वपाका रजनी श्रेष्ठ, अनुश्का श्रेष्ठ, आशिका तामाङ, श्रद्धा कुँवर, पुरुषोत्तम यादव, रिमा विश्वकर्मा, सागर ढकाल, ज्वाला संग्रौला, विश्वराज पोखरेल, डा.ओजश्वी शेरचन, प्रभा ढकाल, रचना खतिवडा, रञ्जु दर्शना, रहबर अन्सारी, डा.ललिता कुमारी, समीक्षा बास्कोटा, सृष्टि भट्टराई, केपी खनाललगायत अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन् । त्यस्तै, कांग्रेसका बासना थापा, निश्कल राई, पवित्रा विक एमालेबाट यशुधाकुमारी बराल, साजिदा सिद्धिकी, रिंगला यादव, टुकाभद्र हमाल, निता घतानीलगायत छन् ।
नेकपाका तर्फबाट पार्वती विक, भीमकुमारी बुढालगायत धेरै सांसद लेखेरै संसद्मा प्रस्तुत हुने गरेका छन् । गत चुनावमा राप्रपाले देशभर वक्ताका रूपमा उभ्याएकी नेतृ खुश्बु ओली हुन् वा श्रम संस्कृति पार्टीका आरएन राई, लिखित विचार नै राख्छन् । त्यसमा पनि अधिकांश सांसदले एआईको सहयोगबाट तयार पारिएको भाषा प्रयोग गर्ने गरेको उनीहरूको शब्द–शैलीबाट थाहा हुन्छ । कतिपयले भाषण सहयोगी राखेका छन् भने वा केहीलाई कार्यकर्ताले सघाउने गरेका छन् । ‘स्क्रिप्टेड’ भाषणका कारण संसद्को प्रभावकारिता र आफ्नो क्षेत्रका नागरिकको वास्तविक समस्याले स्थान पाउन सकेको देखिँदैन ।
रास्वपाका अधिकांश सांसदले एआईबाट लेखेका स्क्रिप्ट पढेपछि सचेतकले सांसदका स्क्रिप्ट हेरेर मात्रै बोल्न दिने नियम बनाएको छ । रास्वपाकी सचेतक क्रन्तिशिखा धितालले यस विषयमा पटकपटक आफ्ना सांसदहरूलाई सचेत पारेकी छिन् । एआईमा मात्र निर्भर भएर संसद्् र समितिका बैठकमा नबोल्न उनले भनेकी थिइन् । पछि, सबै सांसदहरूलाई बोल्नुअघि आफ्नो विषयवस्तु र स्क्रिप्ट सचेतकद्वय क्रान्तिशिखा वा प्रकाशचन्द्र परियारलाई देखाउन रास्वपाले निर्देशन नै जारी गर्यो ।
सार्वभौम सांसदहरूबाटै यस्तो रमिता देखिनुले सिंगो सदनको गरिमामाथि आँच आउने विज्ञहरू बताउँछन् । संसदीय मामिलाका अध्येता डा.जगत नेपाल सार्वभौम संसद्मा के गर्ने के नगर्ने भन्ने विषयमा सांसद, राजनीतिक दल र सभामुखले छलफल गरेर व्यवस्थित बनाउनुपर्ने बताउँछन् । २०१६ सालको जननिर्वाचित संसद्मा केही तथ्यांकहरू भए हेरेर भन्न पाइने, तर विषयवस्तुमा सांसदले हेरेर बोल्न नपाइने व्यवस्था मिलाइएको उनको भनाइ छ । त्यस्तै, निर्दलीय पञ्चायतकालीन संसद््मा पेपर हेरेर पनि बोल्न पाउने व्यवस्था गरिएको नेपालले आफ्नो अनुभव सुनाए । ‘संसद्लाई मर्यादित र जिम्मेवार बनाउने, गरिमा उच्च राख्ने सांसद आफैंले हो,’ उनी भन्छन्, ‘अहिले संसद्मा देखिएका दृष्यले बोल्नका लागि बोलेजस्तो मात्रै भएको छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई कमजोर बनाउँछ ।’
संसद्मा लेखेर लगेका कुरा पढेर सुनाउने विषयलाई एकाथरीले सकारात्मक भनेका छन् भने केहीले यसलाई गलत भएको व्याख्या गर्दै आएका छन् । नेकपाका सांसद पर्शुराम तामाङ विषयवस्तुलाई व्यवस्थित बनाएर आफ्नो समयभित्रै प्रस्तुत गर्न लिखित विषयवस्तुले सहयोग पुग्ने बताउँछन् । कानुनी वा कूटनीतिक विषयमा लिखित मन्तव्य तयार गर्नुपर्ने उनको तर्क छ । सामान्य जनजीविकाका सन्दर्भमा लेखेर मात्रै घोक्दा जनताका वास्तविक समस्या ओझेलमा पर्नसक्ने उनले बताए । लेखेर पढ्नभन्दा मौलिक र मौखिकमा राख्दा सांसदको आवाज बढी जीवन्त हुने तामाङको अनुभव छ ।
१७ भदौ २०१६मा सभामुख कृष्णप्रसाद भट्टराईले संसद्मा लेखेर नपढ्न रुलिङ गरेका थिए । सोही नियमलाई पछि दमननाथ ढुंगानाले पनि सभामुख हुँदा निरन्तरता दिएका थिए । संसद् सचिवालयको अभिलेखअनुसार भट्टराईले गरेको रुलिङमा भनिएको थियो, ‘संसदीय परम्पराअनुसार सामान्यतः लिखित भाषणमा पढ्न पाइने तथा सभामा हुने छलफलमा गतिशीलता ल्याउनका लागि नै यो परम्परा अपनाइएको, सभामा आएर सदस्यहरूले पहिले नै तयार भएको भाषण पढी मात्र दिने हो भने सभामा हुने छलफलमा पेस गरिएका तर्कका सम्बन्धमा विचारको राम्रो आदान–प्रदान नहुने भन्नुहुँदै माननीय सभामुखद्वारा सदस्यहरूको लिखित भाषणहरू पढ्न नपाउने, तर सदस्यहरूले आफ्नो सम्झनाको निमित्त तयार गर्नुभएको टिप्पणीहरू प्राविधिक विषयमा बोल्दा भने आवश्यक लागेमा उपयुक्त बन्देजलाई खुकुलो पारिदिने घोषणा गर्नुभएको ।’ बिस्तारै सो नियम उल्लंघन हुँदै अहिलेको अवस्थामा आइपुग्दा सिंगो सदन नै ‘स्क्रिप्टेड’ हुन पुगेको छ । अहिले पनि त्यो परम्पराको आवश्यकता रहेको पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बताए ।
सांसदहरू बढी अध्ययनशील र अनुसन्धानकर्ताका रूपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड छ । सांसदहरूले जनताका कुरा स्वतस्फुर्त ढंगले राख्न सक्नेगरी आफूलाई विकसित गर्नुपर्ने सापकोटाले बताए । ‘संसद्लाई मर्यादित र ओजपूर्ण बनाउन सभामुखले आवश्यक समन्वय र नियमहरू बनाउन सक्छन्,’ सापकोटाले मध्यान्हसँग भने, ‘हाम्रो पालासम्म संसद्मा यति विघ्न असंसदीय अभ्यास भएका थिएनन् । अहिले संसद्को गरिमा ध्वस्त भएको छ । सदन आरोप प्रत्यारोपको थलो बनेको छ । एआई र स्क्रिप्टको मात्रै भर पर्दा जनताका वास्तविक आवाज बन्द भएका छन् ।’
आफूले बोल्न खोजेको विषयका मुख्य बुँदा, प्राविधिक शब्दहरू टिपेर स्मरणका लागि साथमा राख्न मिल्ने, तर पहिल्यै लेखेर लगेको भाषण पढ्न हुँदैन भन्ने संसदीय मान्यता र अभ्यास कायम राख्न सक्दा राम्रो हुने उनको सुझाव छ । ‘सभामुख यसबारे रमिते बन्नुहुँदैन,’ पूर्वसभामुख सापकोटाले भने, ‘सम्बन्धित दल पनि आफ्ना सांसदको क्षमता बढाउने विषयमा गम्भीर हुनुपर्छ । सभामुखले संसद्लाई कस्तो बनाउने भन्ने महत्वपूर्ण भूमिका हुन्छ । दलका नेता, प्रमुख सचेतक, सचेतकहरूसँग परामर्श गरी सांसदहरूले बोल्ने तरिकाका बारेमा आवश्यक आचारसंहिता बनाउन सकिन्छ ।’