
पोखरा : पोखरामा पछिल्ला दिनमा संगठित अपराधका नयाँ–नयाँ स्वरूप देखिन थालेका छन् । एकातिर ‘टिल्कने क्रिस्टल’ लाई बहुमूल्य पदार्थ भन्दै करोडौं रुपैयाँको सपना देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भेटिएको छ, भने अर्कोतर्फ भारतबाट ठूलो परिमाणमा लागुऔषध भित्र्याएर बिक्री वितरण गर्ने नेटवर्क पनि फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एकै दिन सञ्चालन गरेका दुई फरक अपरेशनमा ११ जनालाई पक्राउ गर्दै यी दुवै अवैध गतिविधिको पर्दाफास गरेको हो ।
प्रहरीका अनुसार पहिलो घटनामा पोखरा–१८ का एक व्यक्तिलाई ‘यो विशेष क्रिस्टलले अँध्यारोमा उज्यालो दिन्छ, पानीलाई जमाएर ढुंगा बनाउँछ, फूलको कोपिलालाई तुरुन्तै फूल बनाइदिन्छ’जस्ता अविश्वसनीय दाबी गर्दै बहुमूल्य वस्तुका रूपमा बिक्री गर्ने प्रयास गरिएको थियो ।
गिरोहले सुरुमा १० लाख रुपैयाँ लिइसकेको र पछि थप २० लाख रुपैयाँ माग्दै धम्की दिएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट सेतो टिल्कने क्रिस्टलजस्तो देखिने वस्तु, नगद, मोबाइल फोन तथा अन्य सामग्री बरामद गरिएको छ । घटनामा आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्स्टर्सन) लगायतका कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उही दिन अर्को अपरेशनमा पोखरा–३२ माझठान क्षेत्रमा भारतबाट ल्याइएको ठूलो परिमाणको लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको डाइजेपाम, फेनार्गन, बुप्रेनोर्फिन, नाइट्राजेपाम, ट्रामाडोल र अन्य प्रतिबन्धित औषधिहरू बरामद भएका छन् । प्रहरीले घटनास्थलबाट सवारी साधन, मोबाइल फोन र ठूलो परिमाणमा लागुऔषधसमेत नियन्त्रणमा लिएको छ ।
यी दुई घटनाले पोखरामा अपराधको स्वरूप परिवर्तन हुँदै गएको संकेत गरेको देखिन्छ । पहिले सामान्य ठगी वा लागुऔषध कारोबारमा सीमित देखिने गिरोह अहिले सामाजिक सञ्जाल, अन्धविश्वास र सीमापार सञ्जालको प्रयोग गर्दै संगठित रूपमा सक्रिय हुन थालेका छन् ।
विशेषगरी ‘चमत्कारी क्रिस्टल’ को नाममा हुने ठगीले मानिसको लोभ र अन्धविश्वासलाई प्रयोग गरेको देखिन्छ । ‘सामान्य ढुंगालाई बहुमूल्य वस्तु’ भन्दै करोडौं रुपैयाँको भ्रम सिर्जना गर्ने यस्ता गिरोहले आर्थिक रूपमा ठूलो क्षति पु¥याउने जोखिम रहेको प्रहरीको भनाइ छ ।
त्यसैगरी सीमावर्ती क्षेत्रबाट नेपालमा लागुऔषध भित्र्याउने नेटवर्क अझै सक्रिय रहेको पछिल्लो पक्राउले देखाएको छ । युवालाई लक्षित गरी यस्ता औषधिको अवैध कारोबार भइरहेकाले यसको नियन्त्रण सुरक्षा निकायका लागि चुनौती बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकलाई बहुमूल्य वस्तु, चमत्कारी क्रिस्टल वा अस्वाभाविक नाफाको प्रलोभनमा नपर्न, साथै लागुऔषध सम्बन्धी कुनै पनि शंकास्पद गतिविधिको जानकारी तत्काल प्रहरीलाई दिन आग्रह गरेको छ ।