
रौतहट : जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
काठमाडौंमा जबर्जस्ती करणी गरी लामो समयदेखि फरार रहँदै आएका रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ८ अकोलवा बस्ने २२ वर्षीय आफान आलम जसलाई स्थानीय स्तरमा 'ड्राइभर' नामले समेत चिनिन्छ लाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रतिवादी आफान आलम विरुद्ध काठमाडौं महानगरपालिका वडा नं. १३ टंकेश्वरस्थित जाहेरवालाको डेरा कोठामा जबर्जस्ती करणी गरेको अभियोग लागेको छ ।
गत २०८२ साल जेठ १५ गते भएको उक्त वारदात पश्चात् आलम काठमाडौंबाट फरार भई विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । पीडितको तर्फबाट परिवर्तित नाम ०८२/०८३ (३४) (क) राखी प्रहरीमा किटानी जाहेरी दर्ता भएसँगै प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दा दर्ता भएदेखि नै आलम प्रहरीको फरार सूचीमा रहेका थिए । काठमाडौंमा अपराध गरी गृहजिल्ला रौतहटमा आएर लुकिछिपी बसिरहेको भन्ने विशेष र गोप्य सूचना जिल्ला प्रहरी कार्यालय रौतहटले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा रौतहट प्रहरीले आफ्नो विशेष टोली परिचालन गरी खोजतलास सुरु गरेको थियो ।
खोजतलासकै क्रममा सोमबार मिति २०८३ साल असार २९ गते दिउँसोको अन्दाजी १२ बजेको समयमा रौतहटको राजपुर नगरपालिका वडा नं. ४ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा आलमलाई फेला पारिएको हो । काठमाडौंको प्रहरी वृत्त कालिमाटीसँग आवश्यक समन्वय गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।
घटना काठमाडौंको टंकेश्वर प्रहरी वृत्त कालिमाटीको कार्यक्षेत्रमा घटेको हुनाले पक्राउ परेका प्रतिवादी आलमलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न रौतहट प्रहरी सफल भएको र कानुनी प्रक्रियाका लागि सम्बन्धित वृत्तमा बुझाइसकिएको जानकारी दिए । जबर्जस्ती करणी जस्तो जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी प्रतिबद्ध रहेको समेत जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ ।