२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ट्राफिक जरिवानाबारे फैलिएको दाबीप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

Nada
२०८३ असार ३० गते १२:४९
Shares
ट्राफिक जरिवानाबारे फैलिएको दाबीप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

काठमाडौँ : ट्राफिक नियम उल्लंघन बापत असुल हुने जरिवानाको २५ प्रतिशत रकम ट्राफिक प्रहरीले विशेष भत्ताका रूपमा पाउने भन्ने दाबीप्रति नेपाल प्रहरीले ध्यानाकर्षण जनाएको छ ।

ncell

प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त आशयका समाचार र टिप्पणी सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

नेपाल प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन बापत संकलन हुने जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था छ । उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।

तथ्य र आधिकारिक जानकारीबिनै अनुमानका आधारमा समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्न सक्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक विवादमा तान्न सक्ने प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै, कुनै पनि समाचार वा सूचना सार्वजनिक गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।

सम्बन्धित खबर