
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित कुशादेवी माध्यमिक विद्यालयमा पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ । असार २७ गते आयोजित उक्त भेला विद्यालयका पूर्व प्रधानाध्यापक रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
भेलाले राजकुमार हुमागाईँको अध्यक्षतामा १७ सदस्यीय ‘कुशादेवी मावि एल्मुनाई एसोसिएसन’ सर्वसम्मत रूपमा गठन गरेको छ । नवगठित समितिले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
एसोसिएसनले विशेषगरी विद्यार्थीमा शैक्षिक अनुशासन अभिवृद्धि गर्ने, आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र आवश्यक सहयोग उपलब्ध गराउने योजना अघि सारेको जनाएको छ ।
भेलामा सहभागी पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूले विद्यालयको समग्र विकासमा एल्मुनाईको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै विद्यालयसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
नवगठित समितिको उपाध्यक्षमा रामसुन्दर सापकोटा, सचिवमा सुदिप सापकोटा, सहसचिवमा भवानी आचार्य हुमागाईँ र कोषाध्यक्षमा दीपक लामिछाने चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा हस्त बहादुर तामाङ, कुमार थापा, टंक प्रसाद हुमागाईं, सुभद्रा अधिकारी, गुणनाथ सापकोटा, जयराम थापा, पूर्ण बहादुर श्रेष्ठ, सनोज घिमिरे, प्रकाश बन्जारा, दीपेश गेलाल र महेश्वर थापा रहेका छन्। एक महिला सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्ने जनाएको छ ।
नवगठित एल्मुनाई एसोसिएसनले आगामी दिनमा विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रतिभावान् तथा विपन्न विद्यार्थीलाई सहयोग तथा पूर्व विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।