
काठमाडौँ : महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले पछिल्लो अवधिमा हराएका तथा जोखिममा रहेका बालबालिकाको खोजी, उद्धार र पुनर्स्थापनामा उल्लेख्य प्रगति गरेको जनाएको छ ।
मन्त्री सिता बादीले जिम्मेवारी सम्हालेपछि २०८२ साल चैत १३ गतेदेखि २०८३ साल असार १० गतेसम्म केन्द्रमार्फत सञ्चालन भएका कार्यक्रमअन्तर्गत २ हजार ४६ जना हराएका बालबालिका सकुशल फेला परेका छन् ।
केन्द्रका अनुसार यस अवधिमा हराएका बालबालिकासम्बन्धी २ हजार ४४० वटा विवरण दर्ता भएका थिए । तीमध्ये करिब ८४ प्रतिशत बालबालिकाको खोजी सफल भएको हो। अझै ३९४ जना बालबालिकाको खोजी कार्य नेपाल प्रहरी र सम्बन्धित निकायसँगको सहकार्यमा जारी रहेको छ ।
यसै अवधिमा बेवारिसे अवस्थामा भेटिएका १०३ जना बालबालिकालाई उद्धार गरी संरक्षणमा ल्याइएको छ । उद्धार गरिएका बालबालिकामध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना सुरक्षित संस्थागत संरक्षणमा रहेका छन् ।
त्यस्तै, सडकमा आश्रित अवस्थामा रहेका ६६ जना बालबालिकाको उद्धार गरिएको छ। तीमध्ये २१ जनालाई परिवारसँग पुनः जोडिएको छ भने ४५ जना हाल संस्थागत संरक्षणमा रहेका छन् ।
केन्द्रको विवरणअनुसार बेवारिसे तथा सडकमा आश्रित अवस्थाबाट गरी कुल १६९ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ८१ जनाको पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ भने ८८ जना बालबालिका संरक्षण संस्थामा रहेका छन् ।
मन्त्रालयले बाल संरक्षणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयलाई निरन्तरता दिएको जनाएको छ ।
जोखिममा रहेका बालबालिकाको तत्काल पहिचान, उद्धार, संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै बाल संरक्षण प्रणालीलाई थप व्यवस्थित र उत्तरदायी बनाउने काम अघि बढाइएको मन्त्रालयको भनाइ छ । आगामी दिनमा पनि हराएका तथा संरक्षण आवश्यक भएका बालबालिकाको खोजतलास र सुरक्षित पुनर्स्थापनाका लागि अन्तर निकाय सहकार्यलाई अझ मजबुत बनाउने मन्त्रालयले जनाएको छ ।