
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडिया हाउस तथा नेताहरूका निवासतर्फ जाने सडकमा निजी सवारीसाधन पार्किङ गरेर अवरोध सिर्जना गर्नेहरूमाथि कडा कारबाही गरिने बताएका छन् । उनले यस्तो गतिविधिलाई ‘अस्वाभाविक र अस्वीकार्य’ प्रवृत्ति भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार राजधानीका विभिन्न स्थानमा मिडिया संस्थाका कार्यालय र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास जाने बाटोमा निजी नम्बर प्लेटका सवारी साधन अव्यवस्थित रूपमा पार्किङ गरिएको भेटिएको थियो । उक्त घटनापछि ट्राफिक प्रहरीले सवारी हटाउनुका साथै केहीलाई जरिवाना गरेर छाडेको जनाएको छ ।
यस विषयमा सिंहदरबारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले रास्वपाले यसअघि नै औपचारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिए । उनले पार्टीको स्पष्ट अडान ‘गलत कार्यमा संलग्न जो कोहीमाथि कारबाही’ नै रहेको दोहोर्याए ।
घटनामा आफ्नै पार्टीका नेता वा कार्यकर्ता संलग्न देखिए के हुन्छ भन्ने प्रश्नमा लामिछानेले रास्वपाले अनुशासनमा सम्झौता नगर्ने स्पष्ट पारे । “रास्वपा त्यो पार्टी हो जसले आवश्यक परे आफ्नै सांसदलाई पनि ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण छ। त्यसैले जो भए पनि कारबाही हुन्छ,” उनले स्पष्ट पारे ।
यसैबीच, लामिछानेले पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताबारे जानकारी दिँदै सुकुमवासी समस्या समाधानका उपायहरूबारे केन्द्रित छलफल भएको बताए ।