
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू आजदेखि नियमित फिल्ड ड्युटीमा फर्किएका छन् । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षाको कारण देखाउँदै बाहिरी क्षेत्रमा परिचालन हुन नसकेका नगर प्रहरी पुन: कार्यक्षेत्रमा खटिएका हुन् ।
राहदानी विभागअगाडि मोटरसाइकलमा ह्वीललक लगाइएको विषयमा भएको विवादपछि गणेश नेपालीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
उक्त घटनापछि केही समय महानगर क्षेत्रका सडक व्यवस्थापन, अव्यवस्थित पार्किङ नियन्त्रण तथा फुटपाथ व्यवस्थापनलगायतका काम प्रभावित भएका थिए । नगर प्रहरीको उपस्थिति कम हुँदा महानगर क्षेत्रको सडक व्यवस्थापनमा असर परेको थियो ।
महानगर प्रहरीले गणेश नेपालीको परिवारले न्याय पाउने विषयमा आफूहरू संवेदनशील रहेको जनाएको छ । नगर प्रहरी प्रशासनले नियमित जिम्मेवारी निर्वाह गर्दै घटनासँग सम्बन्धित विषयमा आवश्यक सहयोग र समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।