
काठमाडौं : ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्याँको टिकट काट्दछ ।’
यो गीतले साझा बसको इतिहास दर्शाउँछ । यो निश्चित दूरीको यात्रामा दुई रुपैयाँ भाडा लाग्ने बेलाको गीत हो । अपांग, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक जो पनि चढ्न सक्ने भनेर परिचित साझा यातायातको बसको रङ र नाम फेर्ने सरकारको निर्णय आएपछि यसमा बहस भयो ।
बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि बढाएको थियो । सुरुमा साझा यातायातका हरियो बसको रङ नै परिवर्तन गरेर निलो बनाएर सञ्चालन गर्न साझा यातायात र सरकारका प्रतिनिधिबीच अनौपचारिक छलफल भएका थिए ।
यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२मा सञ्चालन गरेको ‘ब्लु बस’को नक्कल भएको टिप्पणी गरेका थिए । लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि २०८० वैशाखमा चितवन–२मा आफ्नै खर्चमा ‘ब्लु बस’ सञ्चालन गरेका थिए । महिलाले निःशुल्क यात्रा गर्न पाउनेगरी भाडामा बस लिएर सेवा सुरु गरिएको थियो । ती बस करिब पाँच महिनासम्म सञ्चालन भए । तर, निरन्तरता भने हुन सकेन ।
यसपटक पनि काठमाडौं उपत्यकामा ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारी तयारी सार्वजनिक भएपछि साझा बसको रङ परिवर्तन गरेर राजनीतिक सन्देश दिन खोजिएकोप्रति विरोध भएको थियो ।
यसपछि यस्तो निर्णयबाट सरकार आफैं ‘कमब्याक’ भएको छ ।
साझाको आफ्नो ६४ वर्षको ब्रान्ड छ ।
सरकारले सातै प्रदेशमा ब्लु बस सञ्चालन गर्ने योजनासहित प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा साझाका आठवटा विद्युतीय बसलाई ब्लु बस बनाएर चलाउने तयारी गरेको थियो । सोहीअनुसार २०८३/०८४को पहिलो दिन अर्थात् साउन १ गतेदेखि सञ्चालन गर्ने योजना बनाएको थियो । पूर्वाधार विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा प्रस्ताव गरेको योजना स्वीकृतसमेत भइसकेको छ ।
साझाले नै मानेन
साझाको हरियो बसलाई ब्लु बस बनाएर सञ्चालन गर्ने सरकारको प्रस्ताव साझा यातायातले अस्वीकार गरेको छ ।
साझा यातायातका प्रबन्ध निर्देशक भूपेन्द्र अर्यालले साझाको आफ्नो ६४ वर्षको ब्रान्डलाई यथावत् राख्ने बताउँछन् । उनी भन्छन्, ‘साझाको हरियो बसलाई ब्लु बनाएर चलाउने कुनै तयारी छैन, यो कुरा मान्य पनि हुँदैन ।’
महिलाहरूका लागि निःशुल्क ब्लु बसको व्यवस्थाका लागि सरकारी योजनाअनुसार साझाको हरियो बसलाई विशेष निलो स्टिकर राखेर सांकेतिक रूपमा सञ्चालन गरिने उनले बताए ।
‘एआई जेनेरेटेड धेरै निलो कलरका गाडीका कारण व्यापक प्रचार–प्रसार भयो,’ उनले भने, ‘बसको मौलिक हरियो रङ परिवर्तन गर्दैनौं ।’
ब्लु बस सञ्चालनका लागि महिला मात्रै चढ्ने, महिलालाई निःशुल्क, वा श्रीमान्–श्रीमती चढ्न पाउने भन्ने विषयमा पनि अझै टुंगो नलागेको उनले बताए ।
‘ब्लु बस’ नामले सेवा अवधारणालाई मात्र जनाउने भएकाले बसको रङ परिवर्तन गर्ने कुनै योजना नरहेको अर्यालले बताए । ‘सरकारले साउन १ गतेदेखि काठमाडौंमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने चर्चा छ,’ उनले भने, ‘बजेट र कार्यविधिको सुनिश्चितता नभएसम्म तत्कालै सेवा सुरु हुने अवस्था छैन ।’
सेवा सुरु गर्नुअघि त्यसको निरन्तरताका लागि सरकारसँग सम्झौता गरेर मात्रै अघि बढ्ने र छलफलकै क्रममा रहेको उनले बताए ।
सरकारले साउन १ गतेदेखि साझाका २६ सिट क्षमताका आठवटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालनमा ल्याउने योजना अघि सारेको थियो, तर तयारी नपुगेकाले सञ्चालनको समय र बसको अन्तिम संख्या भने अझै टुंगो लागिनसकेको उनले बताए ।
प्रारम्भिक चरणमा पाइलट प्रोजेक्टको रूपमा साझाका आठवटा विद्युतीय सवारीलाई ब्लु बस सञ्चालन गरिने भनिए पनि अहिले ६ वटा मात्र हुन सक्ने उनले बताए ।
उनका अनुसार एउटा विद्युतीय बसको दैनिक खर्च १० देखि १२ हजार रुपैयाँ रहेको छ ।
आठवटा विद्युतीय बस सञ्चालनका लागि साझाले सरकारसँग वार्षिक ३ करोड ४८ लाख रुपैयाँबराबरको खर्च प्रस्ताव गरेको छ ।