
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय निर्धारण भएको छ । काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । जसअनुसार अधिकांश दोषी वर्ष दिनभित्रै छुट्नेछन् ।
यो प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना निर्धारण भएको छ । तर, रायमाझी अब १० महिनामा छुट्नेछन् । रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए । उनी २०८० जेठ ३२ गते पुर्पक्षका लागि थुनामा गएका थिए । पक्राउ परेदेखि ३ वर्ष २ महिना थुनामा बसिसकेकाले रायमाझी बाँकी १० महिना जेल बसेर छुट्ने भएका हुन् ।
अर्का पूर्वमन्त्री बालकृष्ण खाण भने १ वर्ष ५ महिना जेल बस्नुपर्ने हुन्छ । खाणलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । यसअघि उनी ७ महिनाजति थुनामा बसेका थिए ।
एक वर्ष कैद पाउनेहरू पनि छन् । जसमध्ये केहीले यो कैद भुक्तान गरिसकेका छन् भने बाहिर रहेका पनि एक–एक वर्ष जेल बसे पुग्छ ।
न्यूनतम कसुरदार ठहरिएका पाँचजना प्रतिवादीको हकमा एकीकृततर्फ एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको हो । जसमा नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।
यो प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय तोकिएको छ ।
दुलाल र भण्डारीलाई सरकारी लिखत कीर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिवाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिवाना सुनाइएको छ ।
सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद सुनाइएको छ । दुवैजना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन् । टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको हो ।
अदालतले कसुर अनुसार कैद र जरिवाना भनी अलग–अलग सजाय किटान गरे पनि जुन कसुरमा सबभन्दा बढी कैद सजाय तोकिएको छ, उनीहरूले त्यो मात्र भुक्तान गर्नुपर्छ । जरिवाना भने हरेक कसुरपिच्छे तिर्नुपर्छ ।
यसअनुसार विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, सागर राईलाई पनि ४ वर्ष नै कैद हुनेछ ।
इन्द्रजितले पाए कैद छुट
ज्येष्ठ नागरिक ऐनअन्तर्गत डा.इन्द्रजित राईले भने कैद छुट पाएका छन् ।
‘प्रतिवादी डा.इन्द्रजित राई ७५ वर्ष नाघेका ज्येष्ठ नागरिक भएकाले उनले ज्येष्ठ नागरिक ऐन, २०६३को दफा १२ बमोजिम ७५ प्रतिशत कैद सजाय छुट पाएका छन्,’ फैसलामा उल्लेख छ ।
उनको ठहर भएको कुल सजाय कैद ४ वर्ष हो । पुर्पक्षमा बसिसकेको अवधि ३ वर्ष २ महिना १० दिन रहेको छ । अब भुक्तान गर्न बाँकी रहेको अवधि ९ महिना २० दिन रहेको छ ।
बाँकी अवधिमा ७५ कानुनी छुट हुँदा ७ महिना ७ दिन छुट हुन्छ । यसअनुसार कैद बस्नुपर्ने अवधि २ महिना १३ दिन रहेको छ ।
७ जनाले पाए सफाइ
यो मुद्दामा सातजनाले पाए सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन् ।
सफाइ पाएका रामशरण केसीको हकमा टेकनाथ रिजालको विश्वासमा परी साथीहरूबाट रकम संकलन गरी बुझाएको देखिए पनि निजको नियत अरूलाई ठगी गर्ने नभई स्वयं जाहेरवालाहरूकै जस्तो भूमिकामा मात्र रहेको देखिएको भनिएको छ ।
सन्दीप रायमाझी (टोप बहादुर रायमाझीका छोरा)को हकमा सानु भण्डारीले निजको खातामा जम्मा गरेको ४० लाख रुपैयाँ बुबा टोपबहादुरलाई दिएको रकममध्येबाट हालेको र निजहरूबीच पुरानो व्यापारिक सेयर लगत प्रमाण देखिएकाले कसुरदार मान्न नमिल्ने उल्लेख छ ।
प्रतीक थापाको हकमा जाहेरवाला प्रेमराज पन्थीले अदालतमा बकपत्र गर्दा निजउपरको जाहेरी पूर्ण रूपमा खण्डित हुने गरी बकपत्र गरेको र रकम लिए÷खाएको वस्तुनिष्ठ प्रमाण नभएकाले सफाइ दिइएको छ ।
टंककुमार गुरुङ रेस्टुरेन्ट व्यवसायी रहेको र निजको रेस्टुरेन्टमा कसुरमा संलग्न व्यक्तिहरू जम्मा भई बैठक (मिटिङ) गरेको भन्ने आधार मात्र पर्याप्त नभएकाले सफाइ मिलेको छ ।
लक्ष्मी महर्जन र केशव तुलाधरको बैंक खाता हरिभक्त महर्जनले दुरुपयोग गरेको मात्र अवस्था देखिएकाले सफाइ पाएका हुन् ।
आशिष बुढाथोकीको बैंक खाता केशवप्रसाद दुलालले दुरुपयोग गरेको मात्र अवस्था देखिएको भन्दै अदालतले सफाइ दिएको छ ।