
रौतहट : रौतहटको ईशनाथ नगरपालिका–४ लतमरीस्थित एक पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । घटनापछि स्थानीय प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन टोलीले संयुक्त रूपमा सञ्चालन गरेको खोजी अभियानका क्रममा उनको शव पोखरीबाट निकालिएको हो ।
मृतक भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–२३ निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर (ओजिर) रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति करिब ९ः३० बजे ईशनाथ नगरपालिका–४ स्थित मठिया माध्यमिक विद्यालय परिसरको माछा पोखरीमा ती युवकले अचानक हाम फालेका थिए । स्थानीयले देखेपछि तत्काल प्रहरी चौकी मठियामा खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मठियाबाट प्रहरी हवल्दार राज कर्ण राउतको नेतृत्वमा तीन जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक दलबहादुर कुँवरको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो । रातको समय र प्रतिकूल अवस्थाका कारण तत्काल खोजी कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भए पनि सुरक्षाकर्मी घटनास्थलमै खटिएका थिए ।
बुधबार बिहानदेखि खोजी कार्यलाई थप तीव्र बनाइएको थियो । सशस्त्र प्रहरी बलको सुरक्षा बेस फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक राजन चन्दको नेतृत्वमा सात सदस्यीय विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो । स्थानीय प्रहरी, बीओपी औरैया र विपद् व्यवस्थापन टोलीसहित १७ जनाभन्दा बढी सुरक्षाकर्मीले बिहान ८ बजेदेखि पुनः खोजी अभियान सञ्चालन गरेका थिए ।
खोजतलासका क्रममा बिहान करिब १० बजे युवकको शव पोखरीको पानीमुनि डुबिरहेको अवस्थामा फेला परेको थियो । उद्धार टोलीले करिब सवा १० बजे शवलाई पोखरीबाट बाहिर निकालेको प्रहरीले जनाएको छ ।
शव फेला पर्दा तत्काल पहिचान खुल्न नसके पनि दिउँसो घटनास्थल पुगेका मृतकका दाजु जहिर अहमदले शव आफ्नै भाइ मोहम्मद वजिरको भएको सनाखत गरेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विश्वनाथ यादवको नेतृत्वमा विशेष अनुसन्धान टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलको मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार युवकले किन पोखरीमा हाम फालेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन । मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्रै यकिन हुने जनाइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।